ओमानलाई नेपालले दियो १४८ रनको लक्ष्य

ओमानलाई नेपालले दियो १४८ रनको लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कप २०२६ को सेमिफाइनलमा नेपालले ओमानलाई १४८ रनको लक्ष्य दिएको छ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १४७ रनमा अलआउट भयो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन बनाए। बसिर अहमदले ४७ रनको योगदान दिए। यी दुईबाहेक नेपाली ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। ओपनर देव खनालले १३ तथा आसिफ शेखले ११ रन बनाए। ईशान पाण्डे १, रोहित पौडेल ३, गुलशन झा ७, करण केसी ५ र कप्तान सन्दीप लामिछाने ३ रनमा आउट भए।

बलिङतर्फ ओमानका जय विरम ओडेडारा र हस्नइन शाहले तीन–तीन विकेट लिए। मोहम्मद इमरानले दुई तथा मुजीबुर अलि र शकिल अहमदले एक–एक विकेट लिए। फाइनल प्रवेशका लागि अब ओमानले १४८ रनको लक्ष्य पछ्याउनेछ। प्रतियोगिताको विजेता टोलीले आगामी एसिया कपमा स्थान बनाउनेछ।