

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास उद्योगीप्रति कडा असन्तुष्टि जनाउँदै उद्योगीलाई कडाइ नगरेसम्म एलपी ग्यासको आपूर्ति सहज हुन नसक्ने बताएकी छन्।
बुधबार उद्योग समितिको बैठकमा बोल्दै मन्त्री यादवले उद्योगी र कर्मचारीतन्त्रको प्रभावका कारण ग्यास आपूर्ति तथा उद्योग क्षेत्रमा अपेक्षित सुधार गर्न नसकिएको बताइन्।
नेपालमा आवश्यकताभन्दा बढी एलपी ग्यास उद्योग सञ्चालनमा रहेको उल्लेख गर्दै उनले ५८ वटा ग्यास उद्योगको संरचनामाथि पुनर्विचार गर्नुपर्ने बताइन्। उनका अनुसार नेपालजस्तो मुलुकमा दुईवटाभन्दा बढी ग्यास उद्योग आवश्यक नहुन सक्छ।
ग्यास उद्योगको लाइसेन्स वितरण प्रक्रियामाथि प्रश्न उठाउँदै उनले भनिन्, ‘५८ वटा ग्यास उद्योग किन चाहियो? करोडौँ रुपैयाँ लिएर लाइसेन्स दिएको छ। उद्योगीहरूलाई पाता नफर्काएसम्म ग्यास सहज हुँदैन।’
ग्यासको आपूर्ति सहज बनाउन उद्योगीहरूलाई पटक–पटक आग्रह गरे पनि समस्या समाधान हुन नसकेको उनको भनाइ थियो।
मन्त्री यादवले सरकारभन्दा कर्मचारीतन्त्र शक्तिशाली देखिएको भन्दै प्रशासनिक संयन्त्रमाथि पनि असन्तुष्टि जनाइन्। ‘देश कर्मचारीतन्त्रले चलाएको छ। यस्तो बलियो सरकार हुँदा त कर्मचारीले केही गर्न दिँदैनन् भने अरू सरकारले के गर्न सक्थे?’ उनले प्रश्न गरिन्।
आफूले उद्योगधन्दा खोल्ने वातावरण बनाउन र जनताको हितमा काम गर्न खोजे पनि कर्मचारीतन्त्रबाट पर्याप्त सहयोग नपाएको उनको गुनासो थियो।
‘कर्मचारीले यति दुःख दिएका छन्, म केही गर्न सक्दिनँ, यहाँभन्दा बढी गर्न सक्दिनँ भनेर सिधै जवाफ फर्काउँछन्,’ उनले भनिन्, ‘उद्योगीको फेवरमा नियम–कानुन बनाइएको छ। धेरै परिवर्तन गर्न खोजिरहेकी छु, तर गर्न सकिरहेको छैन।’