चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ६ जना फसेको जानकारी

चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा ६ जना फसेको जानकारी

काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र ६ जना फसेको जानकारी प्राप्त भएको छ।प्रतिनिधिसभा सदस्य तथा इन्जिनियर श्रीराम न्यौपानेका अनुसार चिलिमे आयोजनाको सुरुङभित्र ६ जना फसेको जानकारी आएको हो।

त्रिशूली-३ ‘ए’ आयोजनाको सुरुङबाट दुई जनाको जीवितै उद्धारपछि न्यौपाने चिलिमेतर्फ जाँदै छन्। उनले उद्धार कार्यमा आफ्नो अनुभव र प्राविधिक ज्ञान उपयोग गर्ने बताएका छन्।

‘उक्त उद्धार कार्यमा आफ्नो अनुभव र ज्ञानको उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी लिने, बुझ्ने, आवश्यक सुझाव दिने तथा आवश्यकता परेको अवस्थामा उद्धार कार्यमा समेत प्रत्यक्ष रूपमा खटिने उद्देश्यले जाँदै छु,’ न्यौपानेले सामाजिक सञ्जालमा लेखेका छन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अनुसार बाढीपछि चिलिमे जलविद्युत् आयोजनाबाट ६ जना सम्पर्कविहीन छन्। इप्पानका अनुसार आयोजनाको साइट कार्यालयमा ७१ जना कार्यरत थिए। बाढी आएपछि बाँकी कर्मचारी तथा कामदार सुरक्षित स्थानतर्फ गएर ज्यान जोगाउन सफल भएका थिए।