चितवनमा बाढीपछि फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन

चितवनमा बाढीपछि फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन

नारायणगढ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी नदी किनारबाट चितवनमा फेला परेका शवको व्यवस्थापन, डीएनए नमुना सङ्कलन तथा पहिचानको प्रक्रिया जारी छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार हालसम्म ३६२ वटा शव फेला परेका छन्। तीमध्ये ३३३ शवको व्यवस्थापन गरिएको छ भने १४ शवको सनाखत भएपछि आफन्तलाई जिम्मा लगाइएको छ।

शवको वैज्ञानिक पहिचानका लागि भदौ १६ गतेदेखि डीएनए नमुना सङ्कलन सुरु गरिएको हो। यादवका अनुसार भदौ २० गतेसम्म हराइरहेका व्यक्तिका ६८ जना आफन्तको डीएनए नमुना सङ्कलन गरिएको छ।

भदौ १६ गते सात पुरुषको नमुना सङ्कलन गरिएको थियो। भदौ १७ गते २६ जनाको नमुना लिइएकामा दुई महिला, २२ पुरुष र दुई भारतीय पुरुष नागरिक रहेका थिए।

भदौ १८ गते २२ जनाको नमुना सङ्कलन गरिएकामा चार महिला, १४ पुरुष, एक बालक र तीन भारतीय पुरुष नागरिक थिए। भदौ १९ गते सात जनाको नमुना लिइएकामा एक महिला, चार पुरुष, एक बालक र एक भारतीय पुरुष नागरिक रहेका थिए।

त्यस्तै, भदौ २० गते छ जनाको नमुना सङ्कलन गरिएको थियो। तीमध्ये दुई महिला, एक पुरुष र तीन बालक रहेका छन्। प्रहरी नायब उपरीक्षक यादवका अनुसार खोजी, शव पहिचानका लागि आफन्तको डीएनए परीक्षण, बेपत्ता व्यक्तिको विवरण सङ्कलन तथा अन्य समन्वयात्मक कार्य निरन्तर भइरहेको छ।