

काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय प्रतियोगिताअन्तर्गत नेपालले आयोजक मलेसियाविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ। बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ३२.३ ओभरमा १०३ रनमै अलआउट भयो। मलेसियाले नेपालसामु १०४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
मलेसियाका लागि कप्तान सैयद अजिजले ३०, अकिल वहिदले २४, विरनदीप सिंहले १४ तथा स्याहदत रम्लीले १३ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालका लागि करण केसीले चार विकेट लिए। ललित राजवंशीले दुई विकेट लिँदा सन्दीप लामिछाने, हेमन्त धामी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट हात पारे।
नेपालले प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो। अब मलेसियालाई हराउँदै नेपाल लगातार दोस्रो जितको खोजीमा छ।