अब विपद्पछिको व्यवस्थापन होइन, पूर्वतयारीको संस्कृति निर्माण गरौँ : सभामुख अर्याल

अब विपद्पछिको व्यवस्थापन होइन, पूर्वतयारीको संस्कृति निर्माण गरौँ : सभामुख अर्याल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी)ले भोटेकोशी बाढीबाट उत्पन्न विपद्बारे प्रतिनिधिसभामा विशेष सम्बोधन गर्दै महिला तथा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवनमा ठूलो जनधनको क्षति पुर्‍याएको उल्लेख गर्दै सभामुख अर्यालले प्रभावित नागरिकको मानसिक स्वास्थ्य र मनोसामाजिक अवस्थाप्रति संवेदनशील हुन आग्रह गरे।

‘विपद्बाट प्रभावित नागरिकको मानसिक स्वास्थ्य तथा मनोसामाजिक अवस्थाप्रति संवेदनशील हुँदै महिला तथा बालबालिकाको सुरक्षा, संरक्षण र आवश्यक सेवामा सहज पहुँच सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँछु,’ उनले भने।

सभामुख अर्यालले पछिल्ला दशकमा जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम वृद्धि, हिमनदी तथा हिमतालमा परिवर्तन, हिमपहिरोको जोखिम र असामान्य वर्षाका घटना बढ्दै गएको उल्लेख गरे।

उनले जलवायु परिवर्तनबाट सिर्जित क्षति तथा राष्ट्रिय सुरक्षा चुनौतीबारे अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज अझ बलियो बनाउनुपर्ने बताए। ‘जलवायु परिवर्तनबाट सिर्जित क्षति र नोक्सानीको अन्तर्राष्ट्रिय बहसमा नेपालले आफ्नो आवाज अझ स्पष्ट र बलियो रूपमा उठाउनुपर्ने आवश्यकता छ,’ उनले भने।

रसुवाको पछिल्लो विपद्ले विपद्पछिको व्यवस्थापनसँगै पूर्वतयारीमा जोड दिनुपर्ने पाठ सिकाएको उनको भनाइ छ।

‘हामीले अब विपद्पछिको व्यवस्थापन मात्र होइन, पूर्वतयारीको संस्कृति निर्माण गर्नुपर्दछ। हिमताल र हिमनदीको नियमित अध्ययन र अनुगमनलाई प्राथमिकतामा राख्नुपर्दछ,’ सभामुख अर्यालले भने।

राष्ट्रिय शोकको यस घडीमा तीनै तहका सरकार, राजनीतिक दल, नागरिक समाज तथा राज्यका सबै संयन्त्र एकजुट भएर खोज तथा उद्धार, विस्थापित नागरिकको पुनःस्थापना र घाइतेको उचित उपचारमा केन्द्रित हुनुपर्ने उनले बताए।

नेपाल प्राकृतिक तथा मानवजन्य दुवै प्रकारका विपद्को दृष्टिले संवेदनशील रहेको उल्लेख गर्दै सभामुख अर्यालले भौगोलिक विविधता, कमजोर भू–संरचना, जोखिमयुक्त विकास, कमजोर पूर्वाधार, सीमित स्रोतसाधन तथा जलवायु परिवर्तनका कारण विपद्का घटना दोहोरिँदै आएको बताए।

यसपटकको विपद्मा उद्धार तथा राहतका लागि सुरक्षाकर्मी परिचालन गरिएको स्मरण गर्दै उनले खोज, उद्धार, उपचार, राहत तथा मानवीय सेवामा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सरकारी निकाय, प्रदेश तथा स्थानीय सरकार, स्वास्थ्यकर्मी, रेडक्रस, स्वयंसेवक, सञ्चारकर्मी, स्थानीय समुदाय तथा उद्धारकर्मीलाई प्रतिनिधिसभाको तर्फबाट धन्यवाद दिए।

त्यस्तै, विपद्को समयमा प्राविधिक जनशक्ति, राहत सामग्री, सहयोग तथा सद्भाव उपलब्ध गराउने मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायप्रति सभामुख अर्यालले आभार व्यक्त गरे।