

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा आज मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ। तर ती क्षेत्रमा भारी वर्षाको सम्भावना भने न्यून रहेको मौसमविद्ले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार दिउँसो ती जिल्लामा मध्यमसम्म वर्षा हुनसक्ने भए पनि राति एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ। ‘आज दिउँसो ती जिल्लामा मध्यमसम्म वर्षा हुने सम्भावना रहे पनि भारी वर्षाको सम्भावना न्यून छ। यद्यपि रातिको समयमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ,’ उनले भने।
उनका अनुसार मनसुन पश्चिमतर्फ तुलनात्मक रूपमा बढी सक्रिय रहेकाले आगामी तीन दिनसम्म मौसममा उल्लेख्य सुधार आउने सम्भावना छैन।
विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर र पूर्वमा सरदर स्थान आसपास रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
वर्षाका कारण नदी तथा खोलानालामा जलसतह बढ्न सक्ने भएकाले विशेषगरी भोटेकोशी बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन र नदी किनार तथा जोखिमयुक्त स्थानबाट टाढा रहन विभागले आग्रह गरेको छ।