हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास काठमाडौं पठाइने

हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास काठमाडौं पठाइने
काठमाडौं । पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा नआएसम्म हेटौँडाबाट वैकल्पिक सडकमार्फत दैनिक १०० ट्रक एलपी ग्यास काठमाडौं उपत्यकामा पठाउने व्यवस्था सुरु गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बिहीबारदेखि यो व्यवस्था लागू गरिएको हो।

नेपाल आयल निगम र एलपी ग्यास व्यवसायीसँगको समन्वयमा वैकल्पिक मार्ग प्रयोग गरेर ग्यासको आपूर्ति नियमित गरिने मन्त्रालयले जनाएको छ। यसबाट काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव आगामी केही दिनमै समाधान हुने मन्त्रालयको दाबी छ।

भदौ १० गते आएको बाढीका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा लेदो जमेर सडक अवरुद्ध भएको थियो। त्यसपछि कृष्णभीर क्षेत्रमा सडक भासिएसँगै राजमार्ग पूर्ण रूपमा बन्द भएको हो।

विपद्को अवस्थामा नागरिकलाई एलपी ग्यासको अभाव हुन नदिन वैकल्पिक मार्गबाट आपूर्ति व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।

यसैबीच, मन्त्रालयले भोटेकोशी नदी तथा देशका विभिन्न स्थानमा आएको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।