प्रधानमन्त्री राहत कोषको रकम प्रभावित क्षेत्रमा छिटो पठाउन अर्थमन्त्रीको निर्देशन

प्रधानमन्त्री राहत कोषको रकम प्रभावित क्षेत्रमा छिटो पठाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री राहत कोषमा जम्मा भएको रकम बाढी प्रभावित क्षेत्रमा तत्काल पठाउन निर्देशन दिएका छन्। जनताले विश्वास गरेर जम्मा गरेको रकमको पूर्ण सदुपयोग हुनुपर्नेमा उनले जोड दिएका हुन्।

बुधबार आयोजित एक छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले अत्यधिक प्रशासनिक प्रक्रिया र विभिन्न निकायबीचको समन्वयमा हुने ढिलाइका कारण प्रभावित क्षेत्रमा रकम पुग्न समय लागेको बताए।

‘प्रभावित क्षेत्रका पालिकालाई रकम दिने कुरामा यो निकायबाट त्यो निकाय गर्दै धेरै प्रशासनिकीकरण हुँदा ढिलाइ भएको छ। हामीसँग कार्यविधि छ, संयन्त्र छ। कानुनले नमिल्ने गर्न मिलेन, मिल्ने कुरामा छिटो गरौँ,’ उनले भने।

पालिकाका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीमार्फत आवश्यक औपचारिकता पूरा गर्ने प्रक्रिया सँगसँगै अघि बढाउँदै रकम तत्काल निकासा गर्नुपर्ने उनको भनाइ छ।

अर्थमन्त्री वाग्लेले राहत कोषमा रकम थुप्रिएको तर प्रभावित क्षेत्रमा पुग्न नसकेको जनधारणा बन्न थालेको उल्लेख गरे।

‘पब्लिक पर्सेप्सन के छ भने राहत कोषमा पैसा थुप्रिरहेको छ। यहाँ पैसा भएन भन्ने छ। हामीले अर्थको संयन्त्रबाट पठाइसकेका छौँ। यसलाई उद्धार कोषबाटै पठाउँदा राम्रो सन्देश जान्छ,’ उनले भने।

सरकारले राहत रकम दुरुपयोग नगर्ने र जनताको सहयोग सम्बन्धित ठाउँमा पुग्ने विश्वास कायम गर्न पनि कोषको रकम छिटो परिचालन गर्नुपर्ने उनले बताए।

अर्थमन्त्री वाग्लेले रकम निकासासम्बन्धी काम आजै अघि बढाउन मुख्य सचिवलाई निर्देशन दिएका छन्।