

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रसुवा बाढीबाट प्रभावित नेपाललाई आवश्यक जस्तोसुकै सहयोग गर्न अमेरिका तयार रहेको बताएका छन्। फक्स न्युजसँगको कुराकानीमा ट्रम्पले नेपालसँग अमेरिकाको सम्बन्ध राम्रो रहेको उल्लेख गर्दै विपद्को यस घडीमा आवश्यक सहयोग उपलब्ध गराउने बताएका हुन्।
‘नेपालसँग हाम्रो सम्बन्ध राम्रो छ। जस्तोसुकै सहयोगका लागि हामी तयार छौँ,’ ट्रम्पले भनेका छन्। उनले नेपालमा आएको बाढीलाई आफूले देखेकोमध्ये अत्यन्तै विनाशकारी विपद् भन्दै लेदोसहितको बाढीले शक्तिशाली संरचनासमेत बगाएको बताए।
‘बाढी ध्वंसात्मक थियो। यस्तो विपत्ति अहिलेसम्म कसैले देखेको थिएन। लेदोसहितको बाढीले शक्तिशाली भवनहरू पनि टुथपिकजसरी बगाएको छ,’ उनले भने। ट्रम्पले बाढीमा करिब ५० देखि ६० जना अमेरिकी नागरिकसमेत प्रभावित भएको बताएका छन्। यद्यपि, उनीहरूको यकिन विवरण भने अहिलेसम्म प्राप्त नभएको उनको भनाइ छ।
अमेरिकाले नेपालमा सहायता पठाइरहेको र नेपाली नेतृत्वसँग समेत संवाद गर्ने तयारी गरेको ट्रम्पले बताएका छन्। ‘हामी सहायता पठाउँदै छौँ। नेपालका नेताहरूसँग कुरा गर्नेछौँ। हामी उनीहरूलाई जे सहायता आवश्यक छ, त्यो दिन तयार छौँ,’ उनले भने।