

काठमाडौं । अमेरिकाले नेपालसहित विभिन्न देशका नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा अन्त्य गर्ने निर्णय गरेको छ।
अमेरिकी आप्रवासन सेवाका अनुसार नेपाली नागरिकका लागि टीपीएस सुविधा एक वर्षअघि नै समाप्त भएको थियो। तर, यसलाई पुनः कायम राख्ने वा पूर्ण रूपमा खारेज गर्ने विषयमा निर्णय हुन बाँकी थियो।
हाल अमेरिकी सरकारले नेपाली नागरिकका लागि टीपीएस कायम राख्नुपर्ने कानुनी आधार नरहेको भन्दै सुविधा अन्त्य गर्ने निर्णय गरेको हो।
टीपीएसअन्तर्गत योग्य नागरिकले निश्चित अवधिसम्म अमेरिकामा बस्न, काम गर्न तथा देशनिकालाबाट अस्थायी सुरक्षा पाउँदै आएका थिए। टीपीएस अन्त्य भएपछि अन्य वैध आप्रवासन हैसियत नभएका व्यक्तिले अमेरिका छाड्नुपर्ने अवस्था आउन सक्छ।
यस निर्णयबाट टीपीएसको भरमा अमेरिकामा बसिरहेका नेपाली नागरिक प्रभावित हुने देखिएको छ।
अमेरिकाले नेपालसँगै हाइटी, सिरिया, यमन, अफगानिस्तान, क्यामरुन, होन्डुरस, निकारागुवा, भेनेजुएला, दक्षिण सुडान, म्यानमार, सोमालिया र इथियोपियालगायत देशका नागरिकका लागि पनि टीपीएस अन्त्य गर्ने सूची सार्वजनिक गरेको छ।
युद्ध, प्राकृतिक विपत्ति वा अन्य असाधारण परिस्थितिका कारण तत्काल स्वदेश फर्कन नसक्ने विदेशी नागरिकलाई अमेरिकाले टीपीएसमार्फत अस्थायी कानुनी संरक्षण दिँदै आएको थियो।