

काठमाडौं । बंगलादेशमा ३५ वर्षपछि आज राष्ट्रपति निर्वाचन हुँदैछ। स्थानीय समयअनुसार संसदमा दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने कार्यतालिका छ। राष्ट्रपति पदका लागि सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलको विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल ओली अहमदबीच प्रतिस्पर्धा हुँदैछ।
यसै वर्ष फेब्रुअरी १२ मा भएको आमनिर्वाचनबाट बीएनपी सत्तामा फर्किएको थियो। संसदमा बीएनपीको दुईतिहाइभन्दा बढी बहुमत रहेकाले आलमगीरको जित निश्चितजस्तै मानिएको छ।
पेशाले अर्थशास्त्री आलमगीर सन् १९९० को दशकदेखि बीएनपीको राजनीतिमा सक्रिय छन्। उनी यसअघि कृषि राज्यमन्त्री र स्थानीय सरकारमन्त्रीसमेत भइसकेका छन्। राष्ट्रपति निर्वाचनमा ३४९ जना सांसदले मतदान गर्नेछन्। मतदानपछि मतगणनाको प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ।
नवनिर्वाचित राष्ट्रपतिले शुक्रबार साँझ बंगभवनको दरबार हलमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ। अपदस्थ प्रधानमन्त्री शेख हसिनाका निकट सहयोगी मोहम्मद शहाबुद्दिनले स्वास्थ्यको कारण देखाउँदै पाँचवर्षे कार्यकाल पूरा हुनुअघि गत महिना राजीनामा दिएपछि नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो।
हाल बंगलादेशका सभामुख हाफिज उद्दीन अहमदले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालिरहेका छन्। संविधानअनुसार राष्ट्रपति पद रिक्त भएको ९० दिनभित्र निर्वाचन गराउनुपर्ने व्यवस्था छ।