

काठमाडौं । पोर्चुगलले सार्वजनिक स्थलमा अनुहार छोप्ने पहिरनमाथि प्रतिबन्ध लगाउने कानुन अनुमोदन गरेको छ। राष्ट्रपति एन्टोनियो जोसे सेगुरोले मंगलबार उक्त कानुन प्रमाणीकरण गरेपछि पोर्चुगल सार्वजनिक स्थलमा पूर्ण अनुहार ढाक्ने पहिरन प्रतिबन्ध गर्ने युरोपको अर्को देश बनेको छ।
पोर्चुगलको संसद्ले जुलाईमा पारित गरेको कानुनलाई स्थानीय सञ्चारमाध्यमले ‘बुर्का कानुन’ नाम दिएका छन्। कानुनले सार्वजनिक स्थलमा अनुहार लुकाउने वा पहिचान गर्न कठिन हुने गरी पहिरन लगाउन निषेध गरेको छ। साथै लिङ्ग, धर्म, उमेर वा उत्पत्तिका आधारमा कसैलाई अनुहार छोप्न बाध्य पार्नसमेत रोक लगाइएको छ।
कानुन उल्लंघन गर्ने व्यक्तिलाई १५० देखि ३ हजार युरोसम्म जरिवाना हुन सक्ने व्यवस्था छ। यद्यपि स्वास्थ्य, रोजगारी, कला तथा मौसमसँग सम्बन्धित कारणले अनुहार छोप्नुपर्ने अवस्था भने यसबाट छुट दिइएको छ। धार्मिक स्थल, कूटनीतिक नियोग र हवाईजहाजमा पनि प्रतिबन्ध लागू नहुने व्यवस्था गरिएको छ।
कानुनको अन्तिम स्वरूप दक्षिणपन्थी तथा अतिदक्षिणपन्थी दलहरूको समर्थनमा संसद्बाट पारित भएको थियो भने वामपन्थी दलहरूले विपक्षमा मतदान गरेका थिए। प्रारम्भिक प्रस्ताव अतिदक्षिणपन्थी दल चिगाले अघि बढाएको भए पनि सम्भावित संवैधानिक विवाद कम गर्न त्यसलाई संशोधन गरिएको थियो।
राष्ट्रपति सेगुरोले अनुहार व्यक्तिको पहिचान र मानवबीचको सञ्चारको महत्वपूर्ण हिस्सा भएको उल्लेख गर्दै कानुन प्रमाणीकरण गरेका छन्। उनले यो विषय सामाजिक तथा सांस्कृतिक रूपमा अत्यन्त संवेदनशील रहेको पनि बताएका छन्।
कानुन व्यवहारमा विशेषगरी पूर्ण अनुहार ढाक्ने नकाब वा बुर्का लगाउने मुस्लिम महिलामा बढी प्रभाव पर्ने देखिएको छ। मानवअधिकार तथा महिला अधिकारका पक्षधरहरूले भने यस्तो प्रतिबन्धले महिलाको पहिरन छनोटसम्बन्धी अधिकारमा असर पार्न सक्ने भन्दै आलोचना गर्दै आएका छन्।