आज देशभर जनैपूर्णिमा, क्वाँटी खाने पर्व

आज देशभर जनैपूर्णिमा, क्वाँटी खाने पर्व

काठमाडौं । आज देशभर नवयज्ञोपवीत (जनै) तथा रक्षाबन्धन धारण गरेर जनैपूर्णिमा पर्व मनाइँदैछ। वैदिक सनातन धर्मावलम्बीले बिहानै नदी, ताल, पोखरी तथा कुण्डमा स्नान गरी गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने र नयाँ जनै धारण गर्ने चलन छ।

धार्मिक परम्पराअनुसार मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो ब्राह्मण पुरोहितले वैदिक मन्त्रोच्चारणसहित यजमानको दाहिने नाडीमा बाँधिदिन्छन्। तागाधारीले गुरु पुरोहितबाट विधिपूर्वक मन्त्रिएको नयाँ यज्ञोपवीत धारण गर्ने प्रचलन छ।

जनैपूर्णिमाका दिन ब्राह्मण, क्षेत्री र वैश्य समुदायका तागाधारीले जनै फेर्ने विधान रहेको छ। त्यसअघि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन, एक छाक भोजन तथा शुद्धीकरणका विधि पूरा गरी पूर्णिमाका दिन बिहान नदी, ताल, पोखरी वा कुण्डमा स्नान गर्ने गरिन्छ।

स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पण दिई नयाँ जनै धारण गरिन्छ। कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा तथा तर्पण गरिने भएकाले यस दिनलाई ‘ऋषितर्पणी’ पनि भनिन्छ।

वैदिक परम्परामा जनैलाई ब्रह्मसूत्र तथा ज्ञानको धागोका रूपमा मानिन्छ। जनै फेर्न र रक्षाबन्धन बाँध्न बिहानैदेखि पशुपतिनाथ, वसन्तपुरस्थित अशोकविनायकलगायत मठमन्दिर तथा नदी किनारमा भक्तजनको भीड लाग्ने गर्छ।

जनैपूर्णिमामा ११ प्रकारका गेडागुडी मिसाएर तयार पारिएको क्वाँटी खाने चलन पनि छ। गेडागुडी भिजाएर टुसा उमारेर बनाइने क्वाँटी स्वास्थ्यका लागि लाभदायक मानिन्छ। आयुर्वेदिक मान्यताअनुसार यसले रोग प्रतिरोधी क्षमता बढाउन तथा वर्षायाममा हुने रुघाखोकीजस्ता समस्याबाट बच्न सहयोग गर्ने विश्वास छ।

तराई क्षेत्रमा भने जनैपूर्णिमालाई रक्षाबन्धनका रूपमा समेत मनाइन्छ। दिदीबहिनीले दाजुभाइको नाडीमा राखी बाँधेर आपसी प्रेम, स्नेह र संरक्षणको सम्बन्धलाई बलियो बनाउने सामाजिक परम्परा रहेको छ। पछिल्लो समय यो चलन पहाडी क्षेत्रमा पनि विस्तार हुँदै गएको छ।

जनैपूर्णिमाका अवसरमा काठमाडौंको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, जनकपुरधाम, धनुषसागर, गंगासागर, जुम्लाको दानसाधु र नवलपरासीको त्रिवेणीधामलगायत धार्मिक तथा प्राकृतिक स्थलमा बिहानैदेखि मेला लाग्ने गर्छ।