जलवायु परिवर्तनको असर न्यूनीकरणमा नेपाल–भारत–चीन सहकार्य आवश्यक : रवि लामिछाने

जलवायु परिवर्तनको असर न्यूनीकरणमा नेपाल–भारत–चीन सहकार्य आवश्यक : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक रहेको बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै लामिछानेले तीनवटै देश एउटै पर्वतीय प्रणालीसँग जोडिएकाले जलवायुजन्य विपद्को सामना गर्न सहकार्य अपरिहार्य रहेको बताए।उनका अनुसार नदीहरू कुनै एक देशको सीमाभित्र मात्र सीमित नरहने भएकाले सीमापार समन्वय र सूचनाको आदानप्रदान आवश्यक छ। ‘हाम्रा नदीहरू एउटा सीमाभन्दा माथिबाट सुरु हुन्छन् र अर्को सीमाभन्दा तल पुगेर टुंगिन्छन्,’ उनले भने।

हिमालय क्षेत्रमा भइरहेको परिवर्तनको गति नेपाल, भारत र चीनका संस्थागत परिवर्तनको गतिभन्दा धेरै तीव्र रहेको उल्लेख गर्दै लामिछानेले जलवायुजन्य जोखिम न्यूनीकरणमा तत्काल संयुक्त पहल गर्नुपर्ने बताए।

उनले तीनवटै देश मिलेर पूर्वसूचना प्रणाली विकास, सीमापार विपद्सम्बन्धी तथ्यांक तत्काल आदानप्रदान तथा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सहकार्य गर्न आग्रह गरे।

‘आउनुहोस्, नेपाल, भारत र चीन मिलेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न, पूर्वसूचना प्रणाली विकास गर्न र सीमापार विपद्सम्बन्धी तथ्यांक तत्काल आदानप्रदान गर्न सहकार्य गरौँ,’ उनले भने।

हिमनदी पग्लिने वा हिमपहिरो जाने प्राकृतिक प्रक्रियालाई तत्काल रोक्न नसकिने भए पनि त्यसबाट उत्पन्न हुने आकस्मिक विपद्को जोखिम र क्षति भने न्यूनीकरण गर्न सकिने उनको भनाइ छ।

रसुवामा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै लामिछानेले विपद्का कारण सिंगो देश शोकमा डुबेको बताए।