

काठमाडौं । भीषण बाढीका कारण पृथ्वी राजमार्गसहित नुवाकोट र रसुवा जोड्ने प्रमुख सडकमार्गमा ठूलो क्षति पुगेको छ। बाढीले सडक, पुल तथा संरचना बगाउनुका साथै लेदो, ढुंगा, रुख र अन्य अवशेष थुपार्दा यातायात सञ्चालनमा गम्भीर समस्या देखिएको छ।
सडक विभागको पछिल्लो विवरणअनुसार बैरेनी-गलौदी सडकखण्ड सबैभन्दा बढी प्रभावित भएको छ। बाढीले सडकको लामो भागमा दुईदेखि तीन मिटर उचाइसम्म लेदो, माटो, ढुंगा तथा अन्य अवशेष थुपारेको छ। कतिपय स्थानमा ठूला ढुंगा र जरैदेखि उखेलिएका रुखसमेत सडकमा थुप्रिएका छन्। गलौदीदेखि मुग्लिनसम्मको पृथ्वी राजमार्ग भने सामान्य रूपमा सञ्चालनमा रहेको विभागले जनाएको छ। बैरेनी-गलौदी खण्डमा थुप्रिएको अवशेष हटाउने काम बिहानैदेखि जारी छ।
बाढीले गल्छी-त्रिशूली–बेत्रावती सडकखण्डमा समेत ठूलो क्षति पुर्याएको छ। कोल्पुखोला पुलमा क्षति पुगे पनि हलुका सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था रहेको विभागले जनाएको छ।
देवीघाट क्षेत्रमा करिब ५०० मिटर सडकमा बाढीजन्य अवशेष थुप्रिएका छन् भने देवीघाट पुल बाढीले बगाएको छ। त्रिशूली क्षेत्रमा पनि करिब ५०० मिटर सडक अवरुद्ध छ।
त्यस्तै, तिर्तिरे भीर क्षेत्रमा करिब ३०० मिटर सडक बाढीले बगाएको छ। सडक खुलाउन प्रयास जारी रहे पनि तत्कालै पूर्ण रूपमा यातायात सञ्चालन हुने सम्भावना न्यून रहेको विभागले जनाएको छ। काठमाडौं-नुवाकोट आवतजावतका लागि भने गुर्जे-छहरे-विदुर सडक प्रयोग गर्न सकिने अवस्था रहेको छ।
बाढीले बेत्रावती पुलसमेत बगाएपछि बेत्रावतीदेखि धुन्चेसम्मको सडक सम्पर्क विच्छेद भएको छ। यसले रसुवा र धुन्चे जाने मुख्य सडकमार्गमा थप समस्या सिर्जना गरेको छ।
बेत्रावती-मेलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडकखण्डमा पनि बाढीले विभिन्न स्थानमा सडक नै बगाएको छ। सडकको धेरै भाग प्रभावित भएकाले समग्र अवस्थाबारे अझै पूर्ण जानकारी प्राप्त हुन सकेको छैन।
सडक विभागले प्रभावित क्षेत्रमा क्षतिको विवरण संकलनसँगै सडक खुलाउने काम अघि बढाइरहेको जनाएको छ। यद्यपि, ठूलो मात्रामा सडक तथा पुल क्षतिग्रस्त भएकाले रसुवा र नुवाकोटतर्फको यातायात पूर्ववत् अवस्थामा फर्काउन चुनौती देखिएको छ।