

रूपन्देही । तिब्बतबाट आएको भोटेकोशी नदीको भीषण बाढीको असर नवलपरासीसम्म पर्न सक्ने जोखिम बढेपछि नारायणी नदीपारि रहेको सुस्ता गाउँ खाली गराउन थालिएको छ।नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालका अनुसार सुस्ताका स्थानीयलाई नदीवारी रामनगरस्थित शिव गंगाकुञ्ज प्राथमिक विद्यालयमा सार्न थालिएको हो।
सुस्तामा २२० घरधुरीका करिब १ हजार ४५७ जना रहेको जनाइएको छ। उनीहरूलाई घरका सामान सुरक्षित तथा अग्लो स्थानमा राख्न लगाएर सुरक्षित ठाउँमा सारिएको हो। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको छ। स्थानीयलाई सुरक्षित स्थानमा सारेपछि सुरक्षाकर्मीलाई समेत सुरक्षित ठाउँमा सारिने प्रमुख जिल्ला अधिकारी नेपालले बताए।
सुस्तासँगै नारायणी नदी आसपासका प्रतापपुर र सुस्ता गाउँपालिकाका अन्य बस्तीमा समेत बाढी पस्न सक्ने जोखिम रहेकाले प्रशासनले स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।