

हैदराबाद । निर्देशक एसएस राजामौलीको बहुप्रतीक्षित चलचित्र ‘वाराणसी’लाई विश्वव्यापी रूपमा १२० देशमा प्रदर्शन गर्ने तयारी गरिएको छ। चलचित्रलाई करिब ५० भाषामा डब गरेर प्रदर्शन गर्ने योजना निर्माताको रहेको छ।
‘मिड डे’को रिपोर्टअनुसार राजामौलीले चलचित्रको डबिङमा कृत्रिम बुद्धिमत्ता (एआई)को कृत्रिम आवाज प्रयोग नगरी वास्तविक भ्वाइसओभर कलाकारलाई प्राथमिकता दिने भएका छन्। यसका लागि विश्वभरबाट १ हजार ५०० भन्दा बढी डबिङ कलाकारको अडिसन लिने तयारी गरिएको छ।
राजामौलीले प्रत्येक भाषामा पात्रको आवाज स्वाभाविक र भावनात्मक रूपमा प्रभावकारी होस् भन्ने उद्देश्यले यस्तो तयारी गरेका हुन्। विभिन्न देशका दर्शकले चलचित्रलाई मूल भाषामै हेरेजस्तो अनुभव गर्न सकून् भन्ने उनको लक्ष्य रहेको बताइएको छ।
‘वाराणसी’लाई १२० देशमा प्रदर्शन गर्ने योजना सफल भए यसले अहिलेसम्म १०० भन्दा बढी देशमा प्रदर्शन भएको शाहरुख खान अभिनित ‘पठान’को भारतीय चलचित्रको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय रिलिजको कीर्तिमानलाई उछिन्न सक्नेछ। यसैबीच, रणवीर कपुर अभिनित ‘रामायण’लाई पनि ४५ भाषामा डब गरेर विश्वका विभिन्न बजारमा प्रदर्शन गर्ने तयारी गरिएको छ।
‘रामायण’को डबिङमा एआई प्रयोग गरिएको चर्चा भए पनि निर्माता नमित मल्होत्राले यसलाई अस्वीकार गरेका छन्। उनका अनुसार विभिन्न भाषामा डबिङ गर्न वास्तविक भ्वाइसओभर कलाकारलाई नै प्रयोग गरिएको छ भने रणवीर कपुरले आफ्ना संवाद आफैँ डब गरेका छन्। सबै भाषामा पात्रको आवाज र मुखको चालबीच तालमेल मिलाउन ‘रामायण’का निर्माताले ‘ब्रह्मा एआई’को लिप–सिङ्क प्रविधि प्रयोग गरेको नमित मल्होत्राले बताएका छन्।