आजदेखि नाडा अटो शो, ५१ ब्रान्ड सहभागी

आजदेखि नाडा अटो शो, ५१ ब्रान्ड सहभागी

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ। नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा)को ५०औँ स्थापना वर्ष अर्थात् स्वर्णजयन्तीको अवसरमा आयोजना गरिएको प्रदर्शनी भदौ १४ गतेसम्म सञ्चालन हुनेछ।

यस वर्षको नाडा अटो शोमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे तथा कमर्सियल सवारीसाधनका ५१ ब्रान्ड सहभागी हुँदैछन्। त्यसमध्ये २२ वटा कार ब्रान्ड रहेका छन्। प्रदर्शनीमा बीवाईडी, टाटा, सुजुकी, दीपल, अवतार, स्कोडा, जिली, एमजी, जीडब्ल्यूएम, ओमोडा, जेको, जेटोर, लीपमोटर र स्काइवेललगायत चारपाङ्ग्रे सवारीसाधनका ब्रान्ड सहभागी छन्।

दुईपाङ्ग्रेमा रोयल इन्फिल्ड, यात्री, हिरो, भिडा, यामाहा रेसिङ, भेस्पा/एप्रिलिया, एम्पियर, मेटाईभी र रिभोल्टलगायत ब्रान्डले आफ्ना उत्पादन प्रदर्शन गर्नेछन्। अटोमोबाइलसँग सम्बन्धित टायर, लुब्रिकेन्ट, स्पेयर पार्ट्स तथा अटो कम्पोनेन्ट कम्पनीसँगै बैंक, वित्तीय संस्था र बीमा कम्पनीको समेत सहभागिता रहने आयोजकले जनाएको छ।

आयोजकका अनुसार यसपटकको नाडा अटो शोलाई विगतका संस्करणभन्दा व्यवस्थित, प्रविधिमैत्री र व्यापक बनाउने तयारी गरिएको छ। प्रदर्शनीमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन तथा विभिन्न अटोमोबाइल उत्पादनबारे जानकारी लिन सकिनेछ।