

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की नेत्री पम्फा भुसालले नेता तथा कार्यकर्तामा बढ्दै गएको पदको मोहका कारण कम्युनिस्ट आन्दोलन कमजोर हुँदै गएको बताएकी छन्।
शनिबार नेकपाको कोसी प्रदेश समितिले आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा बोल्दै भुसालले पदप्राप्तिको आकांक्षा बढ्दै गएको र खुला प्रतिस्पर्धाको राजनीतिले समेत यसलाई बढावा दिएको बताइन्।
उनले विगतमा कम्युनिस्ट हुनु त्याग, आदर्श र निष्ठासँग जोडिएको भए पनि अहिले पदप्रतिको आकर्षण बढेको बताइन्। भुसालले पार्टीका संगठनात्मक संरचना पनि चुस्त हुन नसकेको भन्दै ठूलो आकारका कमिटीका कारण प्रभावकारी काम गर्न कठिन भएको बताइन्। २ हजार ४९९ सदस्यीय केन्द्रीय समिति कम्युनिस्ट पार्टी बन्ने बाटो नभएको उनको टिप्पणी थियो।
पार्टी कमिटीहरूमा दोहोरो संवादको अभ्याससमेत कमजोर हुँदै गएको उनले बताइन्। उनका अनुसार कम्युनिस्ट पार्टीमा नेता र कार्यकर्ताबीच निरन्तर संवाद हुनुपर्ने भए पनि ठूला कमिटीका कारण सदस्यले आफ्ना धारणा राख्ने अवसर कम भएको छ।
उनले भनिन्, ‘दोहोरो संवाद हुने गरेर हाम्रा कमिटी बनेका छैनन्। यस्ता संगठन कम्युनिस्ट पार्टीका हुँदैनन्।’ आउँदो महाधिवेशनबाट पार्टीलाई चुस्त र प्रभावकारी संगठनका रूपमा पुनर्संरचना गर्नुपर्नेमा भुसालले जोड दिइन्। नेकपाले आगामी मंसिरमा महाधिवेशन गर्ने तय गरेको छ।