महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जाने कांग्रेस इतर समूहको निर्णय

महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जाने कांग्रेस इतर समूहको निर्णय

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै अदालत जाने निर्णय गरेको छ।

बिहीबार महाराजगञ्जस्थित डा. शशांक कोइरालाको निवासमा बसेको इतर समूहका शीर्ष नेताहरूको बैठकले महाधिवेशन प्रक्रिया रोक्न अदालतमा निवेदन दिने निर्णय गरेको हो।

इतर समूहका प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार शुक्रबारसम्म अदालतमा निवेदन दर्ता गर्ने तयारी छ। उनले पार्टीको आधिकारिकतासम्बन्धी विवादको मुद्दा पुनः सुनुवाइमा जाने भएकाले त्यसको टुंगो नलागेसम्म महाधिवेशन प्रक्रिया अघि बढाउन नहुने समूहको धारणा रहेको बताए।

तर नेपाली कांग्रेसले भने १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाइसकेको छ। केन्द्रीय निर्वाचन समितिको पछिल्लो निर्णयअनुसार वडा अधिवेशन भदौ २४ गते गर्ने कार्यतालिका तय भएको छ।

कांग्रेसले असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ महाधिवेशन गर्ने पूर्वनिर्णय यथावत राख्दै तल्लो तहका अधिवेशनको कार्यतालिका भने संशोधन गरेको छ।

इतर समूहको अदालत जाने निर्णयसँगै कांग्रेसको महाधिवेशन प्रक्रिया र पार्टीको आधिकारिकतासम्बन्धी विवाद थप जटिल बन्ने देखिएको छ।