गङ्गा दाहालको चुनौती : ‘५० करोडको आरोप प्रमाणित गरेर देखाऊ’

गङ्गा दाहालको चुनौती : ‘५० करोडको आरोप प्रमाणित गरेर देखाऊ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पुत्री तथा स्वकीय सचिव गङ्गा दाहालले आफ्नो परिवारमाथि लगाइएका आर्थिक आरोपको कडा खण्डन गर्दै प्रमाणित गर्न सार्वजनिक चुनौती दिएकी छन्।

सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै दाहालले आफू र आफ्नो परिवारविरुद्ध नियोजित रूपमा अफवाह फैलाइएको आरोप लगाएकी छन्। विगतमा ‘दुबईमा ४० अर्ब रुपैयाँ रहेको’ तथा ठूला व्यापारिक घरानासँग साँठगाँठ रहेको आरोप पुष्टि हुन नसकेपछि अहिले ‘५० करोड रुपैयाँको हावादारी हल्ला’ फैलाइएको उनको दाबी छ।

‘राजनीतिक प्रतिशोध र विरोधी बन्नुको पनि सीमा हुन्छ होला। कुनै पनि आरोप पुष्टि नभएपछि अहिले बजारमा ५० करोडको हावादारी हल्ला चलाउन खोजिएको रहेछ,’ उनले लेखेकी छन्, ‘म सार्वजनिक रूपमा चुनौती दिन चाहन्छु, अफवाह फैलाउनेहरूले यसको पुष्टि गर्न सक्छन् ?’

दाहालले आफू र आफ्नो परिवार जुनसुकै कानुनी छानबिनका लागि तयार रहेको पनि बताएकी छन्। आफूहरूले सम्पत्ति विवरण सरकारसमक्ष बुझाइसकेको उल्लेख गर्दै उनले गलत गरेको प्रमाणित भए कानुनअनुसार कारबाही भोग्न तयार रहेको बताइन्।

उनले आफ्नो बाल्यकाल असामान्य र सङ्घर्षपूर्ण परिस्थितिमा बितेको उल्लेख गर्दै जनतालाई धोका दिनुभन्दा मृत्यु स्वीकार गर्ने संस्कारमा हुर्किएको दाबी गरेकी छन्। ‘हामी मृत्युको मुखबाट बाँचेर आएका हौँ। हामीलाई के गर्न हुन्छ, के गर्न हुँदैन, राम्रोसँग थाहा छ,’ उनले भनेकी छन्, ‘हामी मृत्युवरण गर्छौँ तर जनतालाई धोका दिन सक्दैनौँ, यही नै हाम्रो स्कुलिङ हो।’

छोरीको नाताले बुवालाई सहयोग गर्नुलाई अपराधका रूपमा चित्रण नगर्न आग्रह गर्दै उनले यस्ता आरोप र अफवाह किन तथा कुन उद्देश्यले फैलाइन्छन् भन्ने विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्।