आरोप होइन, प्रमाणका आधारमा बहस गरौँ : रवि लामिछाने

आरोप होइन, प्रमाणका आधारमा बहस गरौँ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संवेदनशील विषयमा आरोप र शंकाका आधारमा धारणा बनाउनुभन्दा तथ्य र प्रमाणका आधारमा बहस गर्नुपर्ने बताएका छन्।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै लामिछानेले सञ्चारमाध्यममा आएका विषय, आरोप, अदालतमा विचाराधीन मुद्दा तथा कसैले बयानका क्रममा लिएको नामलाई एउटै दृष्टिकोणबाट हेर्न नहुने बताए।

संवेदनशील विषयमा प्रश्न उठाउँदा सम्बन्धित व्यक्तिसँगै संवैधानिक निकाय र राज्यका संस्थाको प्रतिष्ठालाई समेत ध्यान दिनुपर्ने उनको भनाइ थियो। उनले भने, ‘आवाज ठूलो हुँदैमा तथ्य ठूलो हुने होइन। प्रमाणहरू यति बलिया होऊन् कि हामीले मुख रातो पारेर प्रश्न गर्न नपरोस्, प्रमाण देखेर आउनेहरूको मुख रातो होस्।’

समितिमा प्रस्तुत गरिने विषय तथ्य, प्रमाण, कानुन र संविधानमा आधारित हुनुपर्ने भन्दै लामिछानेले संसदीय समितिको गरिमा कायम राखेर पछि चुनौती दिन नसकिने गरी विषय प्रस्तुत गर्नुपर्ने बताए।

संविधान संशोधनका लागि प्रतिनिधिसभामा मात्रै दुईतिहाइ बहुमत पर्याप्त नहुने उनले स्पष्ट पारे। राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले संविधान संशोधनका लागि दुईतिहाइ पुर्‍याउन तयार रहेको बताएपछि लामिछानेले प्रतिनिधिसभाबाहेक अन्य संवैधानिक प्रावधानलाई समेत ध्यान दिनुपर्ने बताएका हुन्।

सरकारलाई ‘स्पिरिट’का आधारमा सहयोग गर्ने प्रतिबद्धताको स्वागत गर्दै उनले संवैधानिक निकायमा नियुक्ति संविधानअनुसार अधिकतम योग्यता र मेरिटका आधारमा हुनुपर्नेमा जोड दिए।

कुनै व्यक्तिसँग असहमति वा विवाद हुँदैमा संवैधानिक संस्था र त्यसको नेतृत्वमाथि निरन्तर प्रश्न उठाउँदा संस्थाको गरिमा तथा विश्वसनीयतामा असर पर्न सक्ने उनले बताए।

लोकतन्त्रका आधारस्तम्भका रूपमा रहेका संस्थालाई व्यक्तिप्रतिको असन्तुष्टिका कारण कमजोर बनाउन नहुने भन्दै लामिछानेले संस्थाको विश्वसनीयता समाप्त भए लोकतान्त्रिक प्रणाली नै कमजोर हुने धारणा राखे।