

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले प्रहरी प्रधान कार्यालय बिचौलियाले कब्जा गरेको दाबी गरेका छन्।
बिहीबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सुनारले प्रहरी महानिरीक्षक (आईजीपी) माथि उठेका प्रश्नको निष्पक्ष छानबिन हुनुपर्ने बताए। आफूले केही दिनअघि समितिमा उठाएको प्रश्नमा आफू अडिग रहेको उनको भनाइ थियो।
आफूमाथि मानमर्दन भएको ठाने आईजीपीलाई अदालतमा गएर मुद्दा दायर गर्नसमेत उनले चुनौती दिए। सार्वभौम संसदीय समितिमा आएर विवाद र जुहारी खेल्न नमिल्ने उनको टिप्पणी थियो।
उनले भने, ‘निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्। अस्ति गरेको प्रश्नमा म अडिग छु। कहीँ कतै कोही साथीहरूलाई मेरो मानमर्दन भयो भन्ने लाग्छ भने यहाँ उतापट्टि अदालत छ, गएर मुद्दा हाल्नुहोला, कठघरामा उभिएर जवाफ दिनलाई म तयार छु।’
सांसद सुनारले गैरसरकारी संस्था (एनजिओ) का नाममा सामाजिक सद्भाव भड्काउने, जातीय द्वन्द्व र साम्प्रदायिकता बढाउने गतिविधि भइरहेको आरोपसमेत लगाए।
उनले जात र धर्मका नाममा समाजमा विभाजन ल्याउने काम स्वीकार्य नहुने भन्दै राज्यलाई कमजोर बनाउने गतिविधिमाथि नियन्त्रण गर्नुपर्ने धारणा राखे।
उनले भने, ‘एनजिओको नामबाट सामाजिक सद्भाव भड्काउने काम भएको छ। जातीय द्वन्द्व भड्काउने काम भइरहेको छ। जातको नाममा, धर्मको नाममा समाज भड्काउन पाइँदैन।’