

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र मन्त्रीहरूबीच चालु आर्थिक वर्षका लागि कार्यसम्पादन सम्झौता भएको छ।
मन्त्रीहरूले चालु आर्थिक वर्षमा सम्पन्न गर्ने मुख्य काम तथा हासिल गर्ने उपलब्धिको लक्ष्य समेटेर तयार पारेको सूचीका आधारमा प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेका हुन्।
यसअघि मुख्यसचिवको अध्यक्षतामा बसेको सचिवहरूको बैठकले मन्त्रीहरूको कार्यसम्पादन सम्झौता तयार गर्ने निर्णय गरेको थियो। त्यसअनुसार सम्बन्धित मन्त्रालयका सचिवले मन्त्रीसँगको परामर्शमा कार्यसम्पादन सम्झौताको मस्यौदा तयार गरेका थिए।
तयार पारिएको सम्झौतामा प्रधानमन्त्री र सम्बन्धित मन्त्रीले हस्ताक्षर गरी एक–अर्कालाई आदानप्रदान गरेका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार कार्यसम्पादन सम्झौतामार्फत चालु आर्थिक वर्षमा मन्त्रालयहरूले हासिल गर्नुपर्ने प्रमुख लक्ष्य, प्राथमिकता र उपलब्धिलाई स्पष्ट पारिएको छ।