बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक ५ हजारले वृद्धि

बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक ५ हजारले वृद्धि

काठमाडौं । सरकारले प्रारम्भिक बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको पारिश्रमिकमा मासिक पाँच हजार रुपैयाँका दरले वृद्धि गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिकमा पाँच हजार रुपैयाँ थप गर्ने निर्णय गरेको शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

त्यस्तै, सरकारले कक्षा ९ र १० तथा कक्षा ६ देखि ८ मा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको तलबसमेत समायोजन गर्ने निर्णय गरेको छ।

नयाँ निर्णयअनुसार कक्षा ९ र १० मा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको तलब माध्यमिक तृतीय श्रेणीका शिक्षकसरह तथा कक्षा ६ देखि ८ का शिक्षकको तलब निम्न माध्यमिक तृतीय श्रेणीका शिक्षकसरह कायम गरिनेछ।

सरकारको उक्त निर्णयसँगै बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी, विद्यालय सहयोगी तथा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको पारिश्रमिक र तलबमा सुधार हुने भएको छ।