

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना मन्त्री तथा सांसदहरूको कार्यशैली र संसद्मा प्रस्तुत हुने व्यवहारबारे आन्तरिक छलफल गरेको छ।
बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा छलफल भएको हो। बैठकमा लामिछानेले संसद्मा प्रस्तुत हुँदा सांसद तथा मन्त्रीहरूले अपनाउने व्यवहार, भाषा र शैलीप्रति विशेष चासो राखेका थिए।
पछिल्लो समय संसद्मा प्रश्नोत्तरका क्रममा मन्त्रीहरूले सांसदलाई चेतावनीपूर्ण शैलीमा जवाफ दिने गरेको तथा आफ्ना माग सम्बोधन नभएको अवस्थामा सांसदहरूले पनि अमर्यादित वा रुखो व्यवहार देखाउने गरेको भन्दै आलोचना हुँदै आएको छ। यही पृष्ठभूमिमा रास्वपाले आफ्ना सांसदसँग छलफल गरेको हो।
छलफलमा जनताका मुद्दालाई संसद्मा कसरी प्रभावकारी, तथ्यपरक र मर्यादित ढंगले उठाउने भन्ने विषयमा पनि विचार–विमर्श भएको बताइएको छ।
संसद्मा रास्वपाका तर्फबाट हुने प्रस्तुतिलाई थप जिम्मेवार, संयमित र प्रभावकारी बनाउनुपर्नेमा सभापति लामिछानेले जोड दिएका छन्। सांसद र मन्त्रीले आफ्ना असन्तुष्टि तथा धारणा राख्दा संसदीय मर्यादा र भाषाको सीमालाई ख्याल गर्नुपर्ने उनको धारणा रहेको बताइएको छ।
पार्टीका सांसदहरू संसदीय समिति तथा संसद्मा असन्तुष्टि व्यक्त गर्ने क्रममा शैलीगत सन्तुलन गुमाएको भन्दै आलोचना भइरहेका बेला लामिछानेले त्यसमा सुधार ल्याउन निर्देशन दिएको जनाइएको छ।
बैठकमार्फत रास्वपाले संसद्मा आफ्ना सांसद तथा मन्त्रीहरूको प्रस्तुतिलाई थप संयमित र जिम्मेवार बनाउने रणनीति अघि सारेको छ।