मन्त्री हेरफेरको तयारी छैन : रवि लामिछाने

मन्त्री हेरफेरको तयारी छैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारका मन्त्रीहरू हेरफेर गर्ने कुनै तयारी नरहेको स्पष्ट पारेका छन्।

संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले मन्त्री तथा मन्त्रालयका कामकारबाहीमा प्रश्न उठ्नु सामान्य भएको बताए। उनले मन्त्रीहरूले गरेका सयवटा काममध्ये एक–दुई वा चार–पाँचवटा विषयमा प्रश्न उठ्न सक्ने भन्दै त्यसलाई अस्वाभाविक रूपमा लिन नहुने धारणा राखे।

“कुनै पनि मन्त्रालय, मन्त्री वा उहाँहरूले १०० वटा काम गर्दा एक–दुईवटा वा चार–पाँचवटा काममा प्रश्नहरू आउनु स्वाभाविक हो। त्यसलाई हामी अस्वाभाविक मान्दैनौँ। रास्वपाभित्र हामी आफैँ पनि प्रश्न गर्ने गर्दछौँ। मन्त्री फेर्ने कुनै तयारी छैन, कुनै छलफल छैन र त्यस्तो कुनै सम्भावना पनि छैन,” लामिछानेले भने।

उनले बुधबारको छलफल संसदीय दलको औपचारिक बैठक नभएको पनि स्पष्ट पारे। उनका अनुसार सभापतिले सांसदहरूसँग गरेको आन्तरिक छलफल मात्र हो।

“सभापतिले सांसदहरूसँग गर्ने आन्तरिक छलफल कार्यक्रम हो। दलको बैठक पछि बस्दै छ, त्यसमा दलको नेता आइहाल्नुहुन्छ, त्यसमा कुनै दुविधा छैन,” उनले भने।