

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको छ। सोमबारको तुलनामा न्यूनचापीय रेखा नेपालबाट केही टाढा रहेकाले वर्षाको गतिविधि केही कम हुनसक्ने मौसमविद्हरूले बताएका छन्।
महाशाखाका अनुसार आज देशभर सामान्यतया बदली रहनेछ। कोसी र कर्णालीका एक–दुई स्थान तथा सुदूरपश्चिमका केही स्थानमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ। पहाडी भूभागका धेरै स्थान तथा तराईका केही स्थानमा पनि मध्यम वर्षा हुनसक्नेछ। पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोसीको तराई र मधेसका केही स्थानमा हुरी चल्नसक्ने महाशाखाले जनाएको छ।
राति हिमाली तथा पहाडी भूभागका केही स्थानमा वर्षा वा हिमपातको सम्भावना छ। कोसी र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्नेछ। गएको २४ घण्टामा सबैभन्दा धेरै वर्षा बझाङको थलरामा ९८.८ मिलिमिटर मापन भएको छ। कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा भएको छ।
काठमाडौं उपत्यकामा आज दिउँसोपछि बादल बढ्दै गएर अपराह्न वा साँझतिर वर्षा हुने सम्भावना रहेको मौसमविद् बिनु महर्जनले बताएकी छन्। उनका अनुसार त्यसअघि उपत्यकामा घाम लाग्ने र बादल लाग्ने क्रम चलिरहनेछ। दिउँसो १–२ बजेपछि बादल बढ्दै गएर वर्षा हुनसक्ने उनले बताइन्।