भदौमा पनि घट्यो बैंकको ब्याजदर, ५ बैंकले गरे कटौती

भदौमा पनि घट्यो बैंकको ब्याजदर, ५ बैंकले गरे कटौती

काठमाडौं । नेपालका २० वटै वाणिज्य बैंकले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकिङ प्रणालीमा पर्याप्त तरलता कायम रहेपछि साउनको तुलनामा भदौमा पनि निक्षेपको औसत ब्याजदर घटेको छ।

भदौमा व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर ४.१३६ प्रतिशत कायम भएको छ। यो साउनको ४.१६७५ प्रतिशतको तुलनामा ०.०३१५ प्रतिशतविन्दुले कम हो। त्यस्तै, संस्थागत निक्षेपको औसत ब्याजदर पनि साउनको ३.११६ प्रतिशतबाट घटेर ३.०८१ प्रतिशतमा झरेको छ।

५ बैंकले घटाए ब्याज

भदौका लागि ५ वटा बैंकले निक्षेपको ब्याजदर घटाएका छन्। सिद्धार्थ बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.२९ प्रतिशतविन्दुले घटाएर ३.७६ प्रतिशत तथा संस्थागततर्फ ०.२ प्रतिशतविन्दुले घटाएर ३.०५ प्रतिशत कायम गरेको छ।

नेपाल बैंकले व्यक्तिगततर्फ ०.१ प्रतिशतविन्दु घटाएर ४.१५ प्रतिशत र संस्थागततर्फ ०.५ प्रतिशतविन्दु घटाएर ३.५ प्रतिशत ब्याजदर कायम गरेको छ। त्यस्तै, सिटिजन्स बैंकले व्यक्तिगत निक्षेपमा ३.८५ प्रतिशत, कुमारी बैंकले ३.७६ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३.८ प्रतिशत ब्याजदर कायम गरेका छन्।

१५ बैंकको ब्याजदर यथावत्

बाँकी १५ वाणिज्य बैंकले भने साउनकै ब्याजदरलाई भदौमा पनि निरन्तरता दिएका छन्। नबिल बैंक र प्रभु बैंक व्यक्तिगत निक्षेपतर्फ अधिकतम ४.५५ प्रतिशत ब्याजदरका साथ अगाडि छन्। नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबी, सानिमा, माछापुच्छ्रे, राष्ट्रिय वाणिज्य र ग्लोबल आईएमई बैंकसहित १५ बैंकले अघिल्लो महिनाकै दर कायम गरेका हुन्।

बैंकिङ प्रणालीमा रकम थुप्रिने क्रम जारी रहनु र कर्जाको माग अपेक्षाअनुसार नबढ्नुका कारण बैंकहरूले निक्षेपको लागत घटाउने रणनीतिलाई निरन्तरता दिएका छन्। यसले आगामी दिनमा कर्जाको ब्याजदरमा समेत थप दबाब पर्न सक्ने देखिन्छ।