

काठमाडौँ । सरकारले जेन-जी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार र उद्यम सञ्चालनका लागि ५० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ। अर्थ मन्त्रालयले शुक्रबार ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८३’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो।
संशोधित कार्यविधिमा जेन-जी आन्दोलनका शहीद परिवार तथा घाइते लक्षित स्वरोजगार उद्यम कर्जा थप गरिएको छ। कर्जा लिनका लागि शहीद परिवार वा घाइते भएको कुरा नेपाल सरकार वा कानुनबमोजिम तोकिएको निकायबाट प्रमाणित भएको हुनुपर्नेछ। कार्यविधिअनुसार ‘जेन-जी आन्दोलनका शहीद परिवार’ भन्नाले आन्दोलनमा शहीद भएका व्यक्तिका पति, पत्नी, छोरा, छोरी, बाबु वा आमालाई जनाउनेछ।
उक्त कर्जा कृषि तथा पशुपन्छी व्यवसाय, घरेलु तथा साना उद्योग, सेवा व्यवसाय, सूचना प्रविधिमा आधारित व्यवसाय, पर्यटन, उत्पादनमूलक उद्योग र स्टार्टअप उद्यम सञ्चालनका लागि लिन सकिनेछ। सरकारले समय-समयमा तोक्ने अन्य उत्पादन तथा रोजगारीमूलक व्यवसायमा समेत कर्जा उपलब्ध गराउन सकिने व्यवस्था छ। सरकारले आन्दोलनबाट प्रभावित परिवार तथा घाइतेलाई स्वरोजगार र उद्यमशीलतामार्फत आर्थिक रूपमा सबल बनाउने उद्देश्यले सहुलियतपूर्ण कर्जाको दायरा विस्तार गरेको जनाएको छ।