

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहलाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन कोप–३१ मा सहभागी हुन टर्कीबाट निमन्त्रणा आएको छ।
बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले प्रधानमन्त्री शाहलाई कोप–३१ मा सहभागिताका लागि औपचारिक निमन्त्रणा प्राप्त भएको जानकारी दिएका हुन्।
उनका अनुसार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले प्रधानमन्त्री शाहलाई सम्मेलनमा सहभागी हुन निमन्त्रणा पठाएका छन्।
‘कोप–३१ मा नेपालको सहभागिताका सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई निमन्त्रणा प्राप्त भएको छ। टर्कीका सम्माननीय राष्ट्रपतिज्यूबाट निमन्त्रणा प्राप्त भएको हो,’ ढकालले समितिको बैठकमा भने।
परराष्ट्र मन्त्रालयमा प्राप्त निमन्त्रणा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकिएको उनले बताए। यद्यपि, सम्मेलनमा नेपालबाट प्रधानमन्त्री स्वयं सहभागी हुने वा अन्य कुनै तहबाट प्रतिनिधित्व हुने भन्ने विषयमा भने अझै निर्णय भइनसकेको उनको भनाइ छ।
‘त्यो निमन्त्रणा हामीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेका छौं। कुन तहबाट सहभागिता हुने भन्ने विषयमा हामीलाई जानकारी हुन बाँकी छ,’ उनले भने।
कोप–३१ सम्मेलन सन् २०२६ नोभेम्बर ९ देखि २० तारिखसम्म टर्कीको अन्ताल्यामा आयोजना हुने कार्यक्रम छ।