सरकारी कार्यालयमा निवेदनको ढाँचा अब देशभर एउटै हुने

सरकारी कार्यालयमा निवेदनको ढाँचा अब देशभर एउटै हुने

काठमाडौं । सरकारले देशभरका सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता ल्याउने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गर्दै बुधबारदेखि देशभर कार्यान्वयनका लागि निर्देशन जारी गरेको हो।

नयाँ मार्गदर्शनअनुसार विभिन्न सरकारी निकायबाट सेवा लिन नागरिकले पेश गर्ने निवेदनका लागि एउटै र निश्चित ढाँचा कायम गरिनेछ। यसअघि कार्यालयपिच्छे फरक–फरक ढाँचा तथा प्रक्रियाका कारण देखिने अन्योल हटाउन मार्गदर्शन ल्याइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

सरकारका अनुसार नयाँ व्यवस्थाले सार्वजनिक सेवा प्रवाहलाई सरल, सहज, प्रभावकारी तथा नागरिकमैत्री बनाउन सहयोग गर्नेछ।

त्यस्तै, परम्परागत कागजमा आधारित निवेदन प्रक्रियालाई क्रमशः डिजिटल प्रणालीमा समेत रूपान्तरण गरिनेछ। निवेदनका ढाँचाहरू डिजिटल माध्यमबाट समेत उपलब्ध गराउने तयारी भएकाले भविष्यमा सरकारी सेवा अनलाइन तथा मोबाइल एपमार्फत लिन थप सहज हुने सरकारको अपेक्षा छ।

मार्गदर्शन पूर्ण रूपमा कार्यान्वयन भएपछि नागरिकले सरकारी कार्यालयअनुसार फरक–फरक शैलीमा निवेदन लेख्नुपर्ने तथा निवेदनको ढाँचाबारे अन्योलमा पर्नुपर्ने अवस्थाको अन्त्य हुने बताइएको छ।

मार्गदर्शनको प्रभावकारी कार्यान्वयनको मुख्य जिम्मेवारी सम्बन्धित सरकारी कार्यालयका प्रमुखलाई तोकिएको छ।