नयाँ प्रतिभाको खोजी गर्दै ‘लोक दोहोरी च्याम्पियन’, असोज ३ देखि प्रसारणको तयारी

नयाँ प्रतिभाको खोजी गर्दै ‘लोक दोहोरी च्याम्पियन’, असोज ३ देखि प्रसारणको तयारी

धनगढी । नेपाली मौलिक लोकदोहोरीको संरक्षण तथा प्रवर्द्धनसँगै नयाँ प्रतिभाको खोजी गर्ने उद्देश्यले ‘लोक दोहोरी च्याम्पियन’ कार्यक्रम निर्माण भइरहेको छ। रगोन स्टुडियो प्रालिको ब्यानरमा निर्माण भइरहेको कार्यक्रमबारे सोमबार धनगढीमा आयोजित पत्रकार भेटघाटमार्फत जानकारी दिइएको हो।

कार्यक्रम प्रमुख अनुपम गौतमका अनुसार नेपाली लोकदोहोरीको मौलिकता जोगाउँदै नयाँ पुस्ताका प्रतिभालाई राष्ट्रियस्तरको मञ्च उपलब्ध गराउने उद्देश्यले कार्यक्रम निर्माण गरिएको हो। लोकदोहोरीमा रुचि भएका प्रतिभालाई प्रतिस्पर्धामार्फत अघि बढाउने र उनीहरूको प्रतिभालाई ठूलो दर्शकसमक्ष पुर्‍याउने कार्यक्रमको लक्ष्य रहेको गौतमले बताए।

चर्चित कलाकार निर्णायक

‘लोक दोहोरी च्याम्पियन’को निर्देशन माधव राज खरेलले गर्नेछन्। कार्यक्रमको निर्णायक मण्डलमा पुरुषोत्तम न्यौपाने, रीता थापा मगर, पशुपति शर्मा र अमृत खाती रहेका छन्।कार्यक्रमको सञ्चालन दिनेश काफ्ले र इब्सल सञ्ज्यालले गर्नेछन्।

कार्यक्रम व्यवस्थापनको जिम्मेवारी रामप्रसाद अवस्थीले सम्हाल्नेछन् भने प्रतियोगी संयोजकमा दीपक खड्का रहेका छन्। त्यस्तै, संगीत निर्देशकमा राजु ढकाल तथा मेन्टर–कोचमा शिव हमाल रहेका छन्।

प्रोडक्सनको जिम्मेवारी गिरिराज ढकालले सम्हाल्नेछन् भने छायांकन निर्देशन हेमन्त कटुवालले गर्नेछन्। आयोजकका अनुसार शिरिश देवकोटालाई ब्रान्ड एम्बेस्डर तथा सुवास केसीलाई कार्यक्रम परामर्शदाताका रूपमा अनुबन्ध गरिएको छ।

असोज ३ देखि दर्शकमाझ ल्याउने तयारी

आयोजकका अनुसार ‘लोक दोहोरी च्याम्पियन’लाई आगामी असोज ३ गतेदेखि दर्शकमाझ ल्याउने तयारी भइरहेको छ। रगोन स्टुडियोको ब्यानरमा निर्माण भइरहेको कार्यक्रमले नेपाली लोकदोहोरी क्षेत्रमा छरिएर रहेका प्रतिभाको खोजी गरी उनीहरूलाई प्रतिस्पर्धात्मक रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ।

मौलिक लोकदोहोरीको स्वाद र नयाँ पुस्ताको प्रतिभालाई एउटै मञ्चमा जोड्ने प्रयासका रूपमा कार्यक्रमलाई अघि बढाइएको आयोजकको भनाइ छ। कार्यक्रममार्फत लोकदोहोरीको मौलिकता संरक्षणसँगै नयाँ कलाकारलाई राष्ट्रियस्तरमा पहिचान बनाउन अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।