

मुम्बई । सन् १९९१ मा रिलिज भएको बलिउड चलचित्र ‘साजन’ आफ्नो रोचक कथावस्तु, लोकप्रिय गीत–संगीत तथा सञ्जय दत्त, सलमान खान र माधुरी दीक्षितको चर्चित त्रिकोणका कारण निकै सफल भएको थियो।
चलचित्रको सफलतासँगै सञ्जय दत्त र माधुरी दीक्षितबीच प्रेम सम्बन्ध रहेको चर्चाले पनि त्यतिबेला बलिउडमा निकै चर्चा पाएको थियो। यतिबेला भने ‘साजन’का निर्देशक लरेन्स डिसुजाले वर्षौँ पुरानो उक्त चर्चाबारे खुलेर कुरा गरेका छन्।
निर्देशक डिसुजाका अनुसार चलचित्रको छायांकनका क्रममा सम्पूर्ण टोली काम र रमाइलोमा यति व्यस्त थियो कि सञ्जय र माधुरीबीच सम्बन्ध रहेको भन्ने हल्लातर्फ ध्यान दिने फुर्सद नै कसैलाई थिएन।
भिक्की लालवानीसँगको हालैको अन्तर्वार्तामा उनले ‘साजन’को छायांकन अवधिका सम्झना साझा गर्दै टोलीले कामसँगै निकै रमाइलो गरेको बताए। उनका अनुसार चलचित्र कहिले पूरा भयो भन्ने समेत थाहा नहुने गरी सबैजना व्यस्त थिए।
तर निर्देशकले सञ्जय दत्तको एउटा रोचक बानी भने सम्झिएका छन्। ‘साजन’मा लरेन्स डिसुजाले निर्देशकसँगै क्यामेराम्यानको जिम्मेवारीसमेत सम्हालेका थिए। उनका अनुसार माधुरी दीक्षितको क्लोजअप दृश्य छायांकन भइरहेका बेला सञ्जय दत्त प्रायः क्यामेराको नजिक आएर ती दृश्य हेर्ने गर्थे।
सञ्जयले क्यामेरा मनिटरमार्फत माधुरीलाई हेर्ने गरेको आफूले देखे पनि त्यसलाई आफूले कहिल्यै प्रेम सम्बन्धको संकेतका रूपमा नलिएको निर्देशकले बताए।
उनका अनुसार सेटमा सञ्जयले माधुरीका क्लोजअप दृश्य हेर्नु सामान्यजस्तै लाग्थ्यो। त्यसबेला उनीहरूबीच वास्तवमै केही चलिरहेको छ कि छैन भन्नेबारे आफूले सोच्नेसम्म पनि नगरेको डिसुजाको भनाइ छ।
सञ्जय दत्त र माधुरी दीक्षितबीच कथित प्रेम सम्बन्धका बारेमा विभिन्न अड्कलबाजी भइरहेका बेला सन् १९९३ मा सञ्जय दत्त पक्राउ परे। त्यसपछि उनीहरूबीच दूरी बढेको समाचार सार्वजनिक भएका थिए। तर यस विषयमा निर्देशक डिसुजाले आफूले वास्तविक कुरा समाचारबाट मात्रै थाहा पाएको बताएका छन्।
माधुरीको परिवारको आपत्तिका कारण उनले सञ्जयसँग दूरी बढाएको हो कि भन्ने प्रश्नमा निर्देशकले आफूलाई यसबारे कुनै जानकारी नभएको स्पष्ट पारे। उनले उक्त विषयमा कुनै दाबी वा पुष्टि गर्न अस्वीकार गरे।
सन् १९९३ मै सञ्जय दत्तले माधुरीसँग आफ्नो कथित सम्बन्धबारे प्रतिक्रिया दिएका थिए। त्यसबेला माधुरीले आफूहरूबीच प्रेम सम्बन्ध रहेको चर्चालाई अस्वीकार गरेकी थिइन्। सञ्जयले भने माधुरीको भनाइले आफूलाई खासै असर नगरेको बताएका थिए। उनीहरू लामो समयदेखि सहकलाकारका रूपमा काम गर्दै आएकाले एकअर्काबीच राम्रो सम्बन्ध हुनु स्वाभाविक भएको उनको भनाइ थियो।
सञ्जयले आफ्ना सबै सहकलाकारसँग राम्रो सम्बन्ध कायम राख्ने प्रयास गर्ने गरेको पनि बताएका थिए। यही मित्रतालाई कतिपयले प्रेम सम्बन्धका रूपमा व्याख्या गरेको उनको भनाइ थियो।
‘साजन’मा सञ्जय दत्त, माधुरी दीक्षित र सलमान खानको त्रिकोणीय जोडीलाई दर्शकले निकै रुचाएका थिए। चलचित्रका गीत–संगीत र तीनै कलाकारबीचको अनस्क्रिन केमेस्ट्री आज पनि बलिउडका चर्चित सम्झनामध्ये पर्छ।