फेसबुकबाट राष्ट्र सम्बोधन गरी आम्दानी गरेको भन्दै प्रधानमन्त्रीको आलोचना

फेसबुकबाट राष्ट्र सम्बोधन गरी आम्दानी गरेको भन्दै प्रधानमन्त्रीको आलोचना

काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा गरेको सम्बोधन आफ्नै मोनेटाइज्ड फेसबुक पेजबाट प्रसारण गरी आम्दानी गरेको भन्दै आपत्ति जनाएका छन्।

बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै ढुंगानाले प्रधानमन्त्रीले राष्ट्रका नाममा गरेको सम्बोधन सरकारी आधिकारिक सञ्चारमाध्यममार्फत प्रसारण हुनुपर्ने धारणा राखे। उनले प्रधानमन्त्रीको निजी फेसबुक पेजबाट सम्बोधन सार्वजनिक हुनु पदको गरिमासँग मेल नखाने टिप्पणी गरे।

ढुंगानाले प्रधानमन्त्रीले उक्त सम्बोधनबाट करिब ७०० अमेरिकी डलर (झण्डै १ लाख ६ हजार रुपैयाँ) आम्दानी गरेको दाबी गर्दै राष्ट्रका नाममा गरिएको सम्बोधनलाई व्यक्तिगत आम्दानीको माध्यम बनाउनु उपयुक्त नभएको बताए।

उनले प्रधानमन्त्रीको आधिकारिक अभिव्यक्ति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा सरकारी सञ्चारमाध्यमबाट सार्वजनिक हुनुपर्ने उल्लेख गर्दै निजी सामाजिक सञ्जाललाई त्यसका लागि प्रयोग गर्नुले प्रधानमन्त्री पदको मर्यादामा प्रश्न उठ्ने तर्क गरे।

ढुंगानाले राष्ट्रका नाममा गरिने सम्बोधनलाई व्यक्तिगत सामाजिक सञ्जालको सट्टा राज्यका आधिकारिक सञ्चार माध्यममार्फत प्रसारण गर्न सरकारलाई आग्रह गरे।