आज पनि देशभर वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षाको चेतावनी

आज पनि देशभर वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ। देशभर सामान्यदेखि पूर्ण बदली रहेको अवस्थामा बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोशी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रसँगै मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्र, कोशी प्रदेशका हिमाली र पहाडी भूभाग, मधेश प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ।

आज राति पनि देशभर बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।