

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुँजीबजारको दिगो विकासका लागि **नेपाल धितोपत्र बोर्ड (सेबोन)**ले गुणस्तरीय नियमन गर्दै आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताएका छन्। उनले उच्च नैतिकता, पारदर्शिता र लगानीकर्ताको हितलाई केन्द्रमा राखेर काम गर्न बोर्ड नेतृत्वलाई निर्देशन दिएका हुन्।
सोमबार बोर्डको स्थलगत निरीक्षणका क्रममा अर्थमन्त्री वाग्लेले नयाँ नेतृत्व आएपछि बोर्डले दीर्घकालीन सोचका साथ अघि बढ्ने प्रयास गरेको र त्यसको सकारात्मक संकेत बजारमा देखिन थालेको उल्लेख गरे।
उनले धितोपत्र बोर्डको भूमिका नेपाल राष्ट्र बैंकको जत्तिकै महत्वपूर्ण रहेको बताउँदै कानुन निर्माण र नियमनका क्रममा सबै सरोकारवालासँग व्यापक परामर्श गरी साझा बुझाइका आधारमा निर्णय लिन आग्रह गरे। साथै, लगानीकर्ताको सम्पत्तिको सुरक्षा सुनिश्चित गर्दै पुँजीबजारलाई थप विश्वसनीय, पारदर्शी र प्रतिस्पर्धी बनाउनुपर्नेमा पनि जोड दिए।
यस्तै, बोर्डका अध्यक्ष डा. गोपाल भट्टले पुँजीबजारको समग्र विकासका लागि ‘ब्लु प्रिन्ट’ तयार गरी कार्यान्वयन सुरु गरिएको जानकारी दिए।
उनका अनुसार चालु साउनभित्र प्राथमिक तथा दोस्रो बजारमा आईपीओ निष्कासन, इन्ट्रा–डे कारोबार, मार्जिन लेन्डिङ र सर्ट सेलिङसम्बन्धी निर्देशिका तयार गरिनेछ। ती व्यवस्थाहरू सरोकारवालासँग परामर्शपछि चरणबद्ध रूपमा कार्यान्वयनमा ल्याइने बोर्डको तयारी छ।