नागरिक एपबाटै अब ग्लोबल आइएमई बैंकमा अनलाइन खाता खोल्न सकिने

नागरिक एपबाटै अब ग्लोबल आइएमई बैंकमा अनलाइन खाता खोल्न सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँग सहकार्य गर्दै अनलाइनमार्फत बैंक खाता खोल्ने नयाँ सुविधा सुरु गरेको छ। यससँगै नागरिक एप प्रयोगकर्ताले राष्ट्रिय परिचयपत्रको आधारमा घरमै बसेर बैंकमा व्यक्तिगत बचत खाता खोल्न सक्ने भएका छन्।

बैंकका अनुसार नागरिक एपमा आबद्ध नेपाली नागरिकले एपमार्फत उपलब्ध क्यूआर कोड स्क्यान गरी ग्लोबल आइएमई बैंकको वेबसाइटमा प्रवेश गरेर सहज रूपमा खाता खोल्न सक्नेछन्। नेपालमै पहिलो पटक सुरु गरिएको यो सेवाले बैंकिङ पहुँचलाई थप सरल, छिटो र प्रविधिमैत्री बनाउने विश्वास बैंकले व्यक्त गरेको छ।

यो सुविधा १८ वर्ष वा सोभन्दा माथिका, राष्ट्रिय परिचयपत्र लिई नागरिक एपमा आबद्ध भएका नागरिकका लागि उपलब्ध हुनेछ। खाता खोल्ने क्रममा ग्राहकको पूर्वस्वीकृतिपछि आवश्यक व्यक्तिगत विवरण नागरिक एपबाट सुरक्षित रूपमा प्राप्त गरिने भएकाले विवरण पुनः भर्नुपर्ने झन्झट हट्नेछ। साथै, ग्राहकको गोपनीयता र सूचनाको सुरक्षा पनि सुनिश्चित हुने बैंकको दाबी छ।

अनलाइनबाट खोलिएको खाता पूर्ण रूपमा सञ्चालनमा ल्याउन भने ग्राहकले नजिकको ग्लोबल आइएमई बैंक शाखामा पुगेर वा भिडियो केवाईसी (KYC) मार्फत आफ्नो पहिचान प्रमाणीकरण गर्नुपर्नेछ।

बैंकले नागरिक एपसँगको सहकार्यले सरकारी डिजिटल पूर्वाधारको प्रभावकारी उपयोग गर्दै सुरक्षित, भरपर्दो र आधुनिक डिजिटल बैंकिङ सेवा विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने जनाएको छ। साथै, यस सेवाले खाता खोल्ने प्रक्रियालाई थप सहज, पारदर्शी र ग्राहकमैत्री बनाउने विश्वास व्यक्त गरेको छ।