

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ बुधबार सम्पन्न भएको छ। राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय रमण पौडेलले विशेष समारोहबीच वार्षिकोत्सवको मूल कार्यक्रम उद्घाटन गरेका थिए।
संघका अध्यक्ष रविन्द्रप्रसाद चौलागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कर्मचारीहरूको पेशागत हकहित, संस्थाको सुदृढीकरण तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने विषयमा व्यापक छलफल भएको थियो। अध्यक्ष चौलागाईंले कर्मचारीका जायज मागहरू व्यवस्थापनले सम्बोधन गर्नुपर्नेमा जोड दिँदै सेवाग्राहीलाई सरल, सहज र गुणस्तरीय सेवा दिन सबै कर्मचारीलाई आह्वान गरे।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन रेग्मी, बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघका राष्ट्रिय अध्यक्ष धर्मराज मैनाली, संघका सल्लाहकार समिति सभापति तथा पूर्वअध्यक्ष लक्ष्मीप्रसाद पाण्डेय, नेपाल वित्तीय संस्था कर्मचारी संघ (राष्ट्रिय वाणिज्य बैंक) का अध्यक्ष सुदिन केसी तथा नेपाल राष्ट्रिय कर्मचारी संगठन (राष्ट्रिय वाणिज्य बैंक) का कार्यवाहक अध्यक्ष चूडामणि गुप्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
संघले वार्षिकोत्सवको अवसरमा देशभरका प्रदेश समितिमार्फत पनि विविध कार्यक्रम आयोजना गरेको जनाएको छ। साउन १ गते आयोजित रक्तदान कार्यक्रममा ७० जना कर्मचारीले रक्तदान गरेका थिए भने स्वास्थ्य शिविर तथा आँखा, कान र स्वास्थ्य परीक्षण कार्यक्रममा करिब ३०० जना कर्मचारीले सेवा लिएका थिए। कार्यसम्पादन मूल्याङ्कनका आधारमा लुम्बिनी प्रदेश समिति उत्कृष्ट घोषित हुँदै रनिङ शिल्डबाट सम्मानित भएको छ।

त्यसैगरी, वार्षिकोत्सवको अवसरमा ‘संस्थाको संवर्द्धन र पेशागत हकहितका लागि ट्रेड युनियनको भूमिका’ विषयमा आयोजित निबन्ध प्रतियोगितामा रमेश खड्का प्रथम, जानुका कुमारी न्यौपाने द्वितीय र लक्ष्मण पौडेल तृतीय भएका छन्। विजयी प्रतियोगीहरूलाई प्रमुख अतिथिले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए।
संघका महासचिव ऋषिराम ज्ञवालीले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष कबिराज बरालले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा संघका पूर्वअध्यक्षहरू, विभिन्न ट्रेड युनियनका प्रतिनिधि, बैंकका प्रमुख तथा नायब प्रमुख कार्यकारी अधिकृतहरू, विभागीय प्रमुख, शाखा प्रबन्धक, संघका पदाधिकारी तथा ठूलो संख्यामा कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम सफल बनाउन योगदान पुर्याउने कार्यकारी समिति, केन्द्रीय समिति, लेखा समिति, प्रदेश समिति, संघका सदस्य तथा सम्पूर्ण कर्मचारीप्रति संघले हार्दिक धन्यवाद ज्ञापन गरेको छ।