६ कारोबार दिनको लगातार वृद्धिपछि नेप्सेमा करेक्सन, परिसूचक १३.९५ अंक घट्यो

६ कारोबार दिनको लगातार वृद्धिपछि नेप्सेमा करेक्सन, परिसूचक १३.९५ अंक घट्यो

काठमाडौं । लगातार छ कारोबार दिनसम्म उकालो लागेको शेयर बजारमा बुधबार करेक्सन देखिएको छ। पछिल्ला दिनको तीव्र वृद्धिपछि अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्न थालेसँगै नेप्से परिसूचक घटेर बन्द भएको हो।

बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्दै २७१२.५४ विन्दुमा कायम भयो। यसअघि लगातार छ कारोबार दिनमा नेप्से १५६.३० अंकले बढेको थियो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स २.१० अंक, फ्लोट इन्डेक्स ०.७७ अंक तथा सेन्सेटिभ फ्लोट इन्डेक्स ०.५८ अंकले घटेको छ।

बजारसँगै कारोबार रकममा पनि कमी आएको छ। अघिल्लो दिन ६ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार ३४६ कम्पनीका ५६ हजार ९४ कारोबारबाट ५ अर्ब १८ करोड ७४ लाख ६७ हजार रुपैयाँ बराबरको १ करोड १३ लाख ६२ हजार कित्ता शेयर किनबेच भएको छ।

यस दिन एभरेष्ट कलर लिमिटेडको शेयरमा लगातार दोस्रो दिन पनि सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर मूल्य ६४ रुपैयाँ २० पैसा बढेर ४९२ रुपैयाँ ४० पैसा पुगेको छ। यस्तै बुंगल हाइड्रोको शेयर मूल्य १० प्रतिशतभन्दा बढी र सालपा विकास बैंकको शेयर मूल्य करिब ६ प्रतिशतले बढेको छ।

उता, ९.५ प्रतिशत एनसीसी डिबेञ्चर २०८६को मूल्य सर्वाधिक ७.१६ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा रिडी पावर कम्पनी शीर्ष स्थानमा रह्यो। कम्पनीको ४२ करोड ३० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसपछि एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको २८ करोड रुपैयाँभन्दा बढी तथा रिलायन्स स्पिनिङ मिल्सको २६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

१३ उपसमूहमध्ये वित्त र उत्पादन तथा प्रशोधन उपसमूह मात्रै हरियालीमा रहे भने बाँकी ११ उपसमूह घटेका छन्। सबैभन्दा धेरै व्यापार उपसमूह २.६० प्रतिशतले घट्दा निर्जीवन बीमा उपसमूह १.२६ प्रतिशतले ओरालो लागेको छ।