

काठमाडौं। साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उल्लेखनीय वृद्धि हुँदै १९ कारोबार दिनपछि २७०० अंकमाथि पुगेको छ। लगातार पाँचौं दिनको वृद्धिसँगै लगानीकर्ताको उत्साह पनि बढेको देखिएको छ।
सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढेर २७१९.२४ विन्दुमा पुगेको छ। यससँगै सेन्सेटिभ इन्डेक्स ४.२२ अंक, फ्लोट इन्डेक्स २.३९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.४६ अंकले वृद्धि भएका छन्।
परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ। गत शुक्रबार ४ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा सोमबार ३४३ कम्पनीका १ करोड २२ लाख ४५ हजार कित्ता शेयर ६७ हजार १५५ पटक किनबेच हुँदा ५ अर्ब ५१ करोड २६ लाख ८८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
सोमबार एभरेष्ट कलर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर ४८ रुपैयाँ ५० पैसा बढेर ३७२ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको हो।
त्यस्तै, रिज लाइन इनर्जीको शेयर मूल्य १४.५ प्रतिशतभन्दा बढी र श्रीनगर एग्रीटेक इन्डस्ट्रिजको शेयर मूल्य करिब ११ प्रतिशतले बढेको छ। यता, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य भने ६.८६ प्रतिशतले घट्दै सबैभन्दा बढी गिरावट हुने कम्पनी बनेको छ।
कारोबार रकमका आधारमा सोमबार आँखुखोला जलविद्युत कम्पनी अग्रस्थानमा रह्यो। कम्पनीको २९ करोड १५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसपछि रिलायन्स स्पिनिङ मिल्सको करिब २४ करोड ५० लाख रुपैयाँ तथा रिडी पावर डेभलपमेन्टको २० करोड ५० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।
कारोबारमा सहभागी १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने म्युचुअल फण्ड उपसमूह मात्रै सामान्य अंकले घटेको छ। सबैभन्दा बढी उत्पादन तथा प्रशोधन उपसमूह ३.२१ प्रतिशतले उकालो लागेको छ। यस्तै जलविद्युत र अन्य उपसमूह २ प्रतिशतभन्दा बढी, तथा विकास बैंक, होटल तथा पर्यटन, लगानी र व्यापार उपसमूह १ प्रतिशतभन्दा बढीले बढेका छन्।