

काठमाडौं। एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा नेपालको उपाधि यात्रा सुपर ओभरमा रोकिएको छ। लगातार चार खेल जित्दै अपराजित रूपमा सेमिफाइनल पुगेको नेपाल युएईसँग रोमाञ्चक सुपर ओभरमा पराजित हुँदै फाइनल पुग्ने अवसरबाट वञ्चित भयो। यद्यपि, नेपालले यसअघि नै यू–१९ महिला एसिया कपमा स्थान सुरक्षित गरिसकेको छ।
युएईले दिएको १०१ रनको लक्ष्य पछ्याएको नेपाल अन्तिम बलसम्म संघर्ष गर्दै ठीक १०० रनमा अलआउट भएपछि खेल बराबरीमा सकिएको थियो। अन्तिम ओभरमा जितका लागि ७ रन चाहिएको अवस्थामा नेपालले ६ रन मात्र जोड्न सक्यो र खेल सुपर ओभरमा पुग्यो।
सुपर ओभरमा नेपालको ब्याटिङ फेरि निराशाजनक रह्यो। ५ बलमै २ विकेट गुमाएर नेपालले केवल ६ रन बनाउन सक्यो। कप्तान सोनी पाख्रिन र अनु कडायत समान २–२ रनमा आउट भए भने सावित्री धामी १ रनमा अविजित रहिन्।
७ रनको लक्ष्य पछ्याएको युएईले भने केवल ३ बलमै लक्ष्य पूरा गर्दै फाइनलमा स्थान बनायो। कप्तान समैरा धर्नीधार्काले पहिलो बलमै चौका प्रहार गर्दै खेल आफ्नो पक्षमा मोडिन् र युएईलाई ऐतिहासिक जित दिलाइन्।
यसअघि नेपालको ब्याटिङ सुरुदेखि नै दबाबमा परेको थियो। सावित्री धामी ८, सोनी पाख्रिन ३, साना प्रवीण १७, अञ्जिला पाठक ६ र करूणा बिष्ट ४ रनमै आउट भएपछि नेपाल संकटमा परेको थियो।
त्यसपछि अनु कडायत र अलिसा कुमारी यादवले छैटौं विकेटका लागि ३३ रनको साझेदारी गर्दै आशा जगाए। अनुले २० रन बनाइन् भने अलिसाले १७ रनको संघर्षपूर्ण इनिङ्स खेलिन्। तर अन्तिम क्षणमा लगातार रनआउट हुँदा नेपाल जितबाट एक रन टाढा रोकियो।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईलाई नेपाली बलरहरूले १०० रनमै समेटेका थिए। रिया शर्मा र अनु कडायतले समान ३–३ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे। तृष्णा विश्वकर्माले २ तथा मनिषा उपाध्यायले १ विकेट लिइन्।
पराजयसँगै नेपाल फाइनल पुग्न नसके पनि प्रतियोगिताभरको प्रदर्शन निकै प्रभावशाली रह्यो। समूह चरणका तीनै खेल जितेर समूह विजेता बनेको नेपालले क्वाटरफाइनलमा जापानलाई ९ विकेटले हराउँदै यू–१९ महिला एसिया कपमा ऐतिहासिक छनोट सुनिश्चित गरेको थियो। उपाधिको सपना अधुरो रह्यो, तर नेपाली युवा टोलीले देखाएको प्रदर्शनले भविष्यप्रति ठूलो आशा जगाएको छ।