दुई महिनाभित्र हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन, पुनः सञ्चालनको सरकारी तयारी तीव्र

दुई महिनाभित्र हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन, पुनः सञ्चालनको सरकारी तयारी तीव्र

काठमाडौं । लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने सरकारी तयारीले तीव्रता पाएको छ। सरकारले उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्ने लक्ष्यसहित प्रारम्भिक चरणमा आगामी दुई महिनाभित्र परीक्षण उत्पादन सुरु गर्ने योजना अघि बढाएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित अध्ययन कार्यदलले उद्योग पुनः सञ्चालनसम्बन्धी प्रतिवेदन सोमबार उद्योगमन्त्री गौरीकुमारी यादवलाई बुझाएको छ। मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाका प्रमुख रामबन्धु सुवेदीको संयोजकत्वमा गठित कार्यदलले उद्योग सञ्चालनका लागि आवश्यक प्रगति, चुनौती र आगामी कार्ययोजनासहितको प्रतिवेदन तयार गरेको हो।

मन्त्रालयका अनुसार परीक्षण उत्पादनका लागि आवश्यक तयारी सुरु भइसकेको छ। अर्थ मन्त्रालयबाट विनियोजित बजेटका आधारमा नेपाली सेनाले उद्योगका मेसिन मर्मत, परीक्षण तथा आवश्यक प्राविधिक तयारी अघि बढाइसकेको छ।

प्रतिवेदनअनुसार सरकारको निर्देशनबमोजिम नेपाली सेनाले आगामी दुई महिनाभित्र उद्योगबाट परीक्षण उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ। सोहीअनुसार उद्योग परिसरमा सरसफाइ, उपकरण मर्मत तथा कच्चा पदार्थ व्यवस्थापनको काम तीव्र गतिमा भइरहेको छ।

उद्योग मन्त्रालयको प्रस्तावपछि अर्थ मन्त्रालयले असारको पहिलो सातामै नेपाली सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयको खातामा ३३ लाख रुपैयाँ निकासा गरिसकेको छ। उक्त रकम परीक्षण उत्पादनका प्रारम्भिक कार्यका लागि खर्च गरिनेछ।

उद्योग सञ्चालनको जिम्मेवारी पाएपछि नेपाली सेनाको प्राविधिक टोली उद्योगमा खटिएको छ। टोलीले उद्योग परिसरको सरसफाइ, आवश्यक कच्चा पदार्थ खरिद तथा पुराना मेसिनको मर्मत कार्य सुरु गरिसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

यस्तै, उद्योगको भवन तथा अन्य भौतिक संरचनाको मर्मतका लागि ५० लाख रुपैयाँ लागत अनुमान तयार गरिएको छ। सोही आधारमा पूर्वाधार विकास मन्त्रालयले संरचना मर्मतको जिम्मेवारी लिएको छ भने उद्योगभित्रको विद्युत् प्रणाली मर्मतको काम हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले सम्पन्न गरिसकेको मन्त्रालयले जनाएको छ।

सरकारले तत्कालका लागि उद्योगमा रहेका पुराना मेसिन प्रयोग गरी परीक्षण उत्पादन गर्ने योजना बनाएको छ। परीक्षण उत्पादनको नतिजाका आधारमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक कानुनी तथा नीतिगत प्रक्रिया अघि बढाइनेछ।

प्रतिवेदन बुझ्दै उद्योगमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योग राष्ट्रिय गौरवसँग जोडिएको परियोजना भएकाले यसको पुनः सञ्चालन सरकारको उच्च प्राथमिकतामा रहेको बताइन्। उनले कार्यदलका सुझाव कार्यान्वयन गर्दै निर्धारित समयमै परीक्षण उत्पादन सुरु गर्न मन्त्रालयले आवश्यक समन्वय, सहजीकरण र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।