काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार लगातार दोस्रो कारोबार दिन पनि बढेको छ। अघिल्लो दिन ६.११ अंकले बढेको बजार आज थप १४ अंकले उकालो लाग्दै २,५९० अंकमा पुगेको हो।
बजार दिनभर हरियो संकेतमा रहे पनि कारोबार रकम भने उल्लेख्य रूपमा घटेको छ। अघिल्लो दिन ८ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार ४ अर्ब १६ करोड रुपैयाँमा सीमित भयो।
कारोबार रकम घट्नुमा ऋणपत्र कारोबारमा आएको कमी मुख्य कारण बनेको छ। मंगलबार मात्रै ४ अर्ब ७६ करोड रुपैयाँ बराबरको ऋणपत्र कारोबार भएको थियो भने बुधबार यो रकम १ अर्ब ३२ करोड रुपैयाँमा झरेको छ।
आजको कारोबारमा १९१ कम्पनीको शेयर मूल्य बढ्दा ६४ कम्पनीको घट्यो भने १९ कम्पनीको मूल्य स्थिर रह्यो।
समूहगत सूचकतर्फ अधिकांश क्षेत्र हरियाली रहे। विकास बैंक समूह सबैभन्दा धेरै १.३७ प्रतिशतले बढ्यो। यस्तै बैंकिङ ०.७४ प्रतिशत, फाइनान्स ०.५० प्रतिशत, होटल तथा पर्यटन ०.६१ प्रतिशत, जलविद्युत् ०.४७ प्रतिशत, जीवन बीमा ०.५४ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.५७ प्रतिशत, माइक्रोफाइनान्स ०.२७ प्रतिशत, निर्जीवन बीमा १.०३ प्रतिशत, अन्य ०.३७ प्रतिशत तथा व्यापार समूह ०.६० प्रतिशतले उकालो लागे। लगानी समूह भने ०.४६ प्रतिशतले घट्यो।
व्यक्तिगत कम्पनीतर्फ नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य ८.४० प्रतिशत, थ्रीस्टार हाइड्रोपावरको ६.२१ प्रतिशत, सागर डिस्टिलरीको ६.०३ प्रतिशत तथा भुजुङ हाइड्रोपावरको ४.७२ प्रतिशतले वृद्धि भयो।
यता उपकार लघुवित्तको शेयर मूल्य ७.३२ प्रतिशतले घट्दा कर्पोरेट डेभलपमेन्ट बैंक ३.०६ प्रतिशत र आत्मनिर्भर लघुवित्त ३ प्रतिशतले ओरालो लागे।
कारोबार रकमका आधारमा सिद्धार्थ बैंक, आँखुखोला जलविद्युत् कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स स्पिनिङ मिल्स र एनआरएन इन्फ्रास्ट्रक्चर सबैभन्दा बढी कारोबार भएका कम्पनी बने।