फिफाको नयाँ योजना : सन् २०३० विश्वकपमा ६४ टोली ?

फिफाको नयाँ योजना : सन् २०३० विश्वकपमा ६४ टोली ?

काठमाडौं । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले सन् २०३० को विश्वकपमा सहभागी टोलीको संख्या ४८ बाट बढाएर ६४ पुर्‍याउने प्रस्तावमाथि औपचारिक छलफल गर्ने संकेत दिएको छ। फिफा अध्यक्ष जियानी इन्फान्टिनो ले विश्वकपलाई अझ समावेशी बनाउने उद्देश्यले प्रतियोगिता विस्तारको विषय सम्बन्धित समितिहरूमा अध्ययन र छलफल हुने बताएका हुन्।

स्विस सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा उनले विश्वकप युरोप र दक्षिण अमेरिकाका लागि मात्र नभई सम्पूर्ण विश्वका राष्ट्रहरूको प्रतियोगिता भएकाले बढीभन्दा बढी देशलाई अवसर दिनुपर्ने धारणा राखे। इन्फान्टिनोका अनुसार विश्वभरका टोलीहरूको स्तर उल्लेखनीय रूपमा उकासिँदै गएको छ। साना राष्ट्रलाई विश्वकपमा प्रतिस्पर्धा गर्ने अवसर दिँदा उनीहरूको विकास र प्रेरणा अझ बढ्ने विश्वास उनले व्यक्त गरे।

सन् १९९८ देखि २०२२ सम्म विश्वकपमा ३२ टोली सहभागी हुँदै आएका थिए। हाल भइरहेको सन् २०२६ विश्वकप पहिलो पटक ४८ टोलीको सहभागितासहित आयोजना गरिएको हो। इन्फान्टिनोले ४८ टोलीको नयाँ ढाँचालाई सफल भएको दाबी गर्दै सबै महादेशका टोलीले प्रतिस्पर्धात्मक प्रदर्शन गरेको बताए। विशेषगरी अफ्रिकी टोलीहरूको प्रदर्शनलाई उदाहरण दिँदै उनले अवसर विस्तारको सकारात्मक प्रभाव देखिएको उल्लेख गरे।

सन् २०३० को विश्वकप इतिहासमै पहिलो पटक तीन महादेशमा आयोजना हुनेछ। उद्घाटन खेलहरू उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा हुनेछन् भने त्यसपछि बाँकी खेलहरू मोरक्को, पोर्चुगल र स्पेनमा सञ्चालन गरिनेछन्। यदि प्रतियोगिता ६४ टोलीसम्म विस्तार गर्ने निर्णय भए दक्षिण अमेरिकी आयोजक राष्ट्रहरूले एक–एक खेल मात्र होइन, पूरा समूह चरणका खेल आयोजना गर्ने सम्भावना पनि बढ्नेछ।