वर्षाले ठप्प राजमार्ग, पहिरोले दर्जनौं सडक प्रभावित

वर्षाले ठप्प राजमार्ग, पहिरोले दर्जनौं सडक प्रभावित

काठमाडौं । लगातारको वर्षापछि देशका प्रमुख तथा सहायक राजमार्गहरूमा पहिरो र बाढीका कारण यातायात प्रभावित भएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न सडक खण्डमा पूर्ण तथा आंशिक रूपमा सवारी आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ।

कोशी प्रदेशको भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्गमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ। इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग भने असार २३ गतेदेखि पूर्ण रूपमा बन्द छ।

बागमती प्रदेशमा काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी हुँदै जाने बीपी राजमार्गमा सम्पूर्ण सवारी साधन सञ्चालन रोकिएको छ। मकवानपुरको भीमफेदी–भर्‍याङडाँडास्थित कान्तिलोकपथ र सिन्धुपाल्चोकको कोदारीस्थित अरनिको राजमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छन्।

गण्डकी प्रदेशको कास्कीस्थित पोखरा–ताङतिङ सडक खण्ड पनि पहिरोका कारण बन्द रहेको छ।

यस्तै, लुम्बिनी प्रदेशमा रोल्पाको घोराही–रुकुम शहीद मार्ग, अर्घाखाँचीको सालझन्डी–ढोरपाटन सडक, गुल्मीस्थित मदन भण्डारी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन्। पाल्पाको सिद्धार्थ राजमार्गमा भने सवारी साधन एकतर्फी सञ्चालन भइरहेको छ।

प्रहरीले वर्षा जारी रहेकाले पहिरो र बाढीको जोखिम उच्च रहेको भन्दै अत्यावश्यकबाहेक लामो दूरीको यात्रा गर्दा सडक अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरेको छ।