

काठमाडौं । आज राजधानी काठमाडौं उपत्यकासहित देशका ३५ जिल्ला र आसपासका खोला तथा नदीमा आकस्मिक बाढी आउने सम्भावना रहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक तथा आसपासका क्षेत्रमा सबैभन्दा बढी बाढीको जोखिम रहेको छ। यी क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेकाले साना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिइएको छ।
यस्तै पाँचथर, इलाम, झापा, मोरङ, सप्तरी, सुनसरी, भोजपुर, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लम्जुङ, तनहुँ, मकवानपुर, बारा, पर्सा, रौतहट, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), पाल्पा, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, कैलाली लगायत जिल्लाबाट बग्ने साना नदी तथा खोलाहरूको बहाव उल्लेख्य रूपमा बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने जनाइएको छ।
महाशाखाले विशेषगरी काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोक आसपासका साना नदी तथा खोलामा उच्च जोखिम रहेको उल्लेख गर्दै नदी किनार, तटीय बस्ती तथा डुबान हुन सक्ने क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।
साथै, अनावश्यक रूपमा नदी तथा खोलाको आसपास नजान, जोखिमयुक्त सडकमा यात्रा गर्दा सावधानी अपनाउन तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गर्ने सूचनालाई नियमित रूपमा पालना गर्न पनि महाशाखाले अनुरोध गरेको छ।