विश्वकप फाइनल टिकट ५२ लाख रुपैयाँभन्दा महँगो

विश्वकप फाइनल टिकट ५२ लाख रुपैयाँभन्दा महँगो

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनल खेलका टिकटको मूल्यले फुटबल समर्थकलाई चकित बनाएको छ। फिफाले फाइनलका केही टिकटहरू नेपाली मुद्रा अनुसार ५० लाखदेखि ५२ लाख रुपैयाँभन्दा बढी मूल्यमा बिक्री गरिरहेको छ।

न्यु जर्सीको ईस्ट रदरफोर्डस्थित मेटलाइफ स्टेडियममा जुलाई १९ मा हुने फाइनलका लागि फिफाले हालै ‘क्याटेगोरी–२’ अन्तर्गत करिब १,२०० टिकट पुनः बिक्रीमा राखेको छ। ती टिकटको मूल्य प्रतिटिकट ७,३८० अमेरिकी डलर तोकिएको छ।

यसअघि फाइनल खेलका टिकटहरू पूर्ण रूपमा बिक्री भइसकेको देखाइए पनि फिफाको वेबसाइटमा थप १,०७८ सिट उपलब्ध गराइएको छ। यी सिटहरू रंगशालाको माथिल्लो तहका विभिन्न खण्डमा रहेका छन्।

फिफाले ‘क्याटेगोरी–१’ अन्तर्गतका ६८ प्रिमियम टिकटसमेत बिक्रीमा राखेको छ, जसको मूल्य १९,९९५ अमेरिकी डलरदेखि ३२,९७० अमेरिकी डलरसम्म रहेको छ। नेपाली रुपैयाँमा यसको मूल्य करिब ३० लाखदेखि ५० लाख रुपैयाँभन्दा बढी पर्न जान्छ।

यस्तै, खाना र पेय पदार्थसमेत समावेश भएका ‘ट्रफी लाउन्ज’ र ‘ट्रफी लाउन्ज प्लस हस्पिटालिटी’ प्याकेजका टिकटको मूल्य क्रमशः ३४,५०० र ३२,५०० अमेरिकी डलर निर्धारण गरिएको छ। यी टिकटहरूको मूल्य नेपाली रुपैयाँमा ५२ लाख रुपैयाँभन्दा बढी पर्छ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले एकाएक थप टिकट कसरी उपलब्ध भए भन्नेबारे भने कुनै आधिकारिक स्पष्टीकरण दिएको छैन।