साना-सावित्रीको विस्फोटक ब्याटिङ, सिंगापुरमाथि नेपालको १५१ रनको जित

साना-सावित्रीको विस्फोटक ब्याटिङ, सिंगापुरमाथि नेपालको १५१ रनको जित

काठमाडौं । ओपनर साना प्रवीण र सावित्री धामीको अविजित साझेदारीमा नेपालले एसिसी महिला यू-१९ प्रिमियर कपमा सिंगापुरलाई १५१ रनको विशाल अन्तरले पराजित गरेको छ। मलेसियामा जारी प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो। २०० रनको लक्ष्य पछ्याएको सिंगापुर २० ओभरमा ८ विकेट गुमाउँदै ४८ रनमा सीमित भयो। अंकिता वर्षा राजले सर्वाधिक १९ रन बनाइन् भने अन्य कुनै ब्याटरले दोहोरो अंक छुन सकेनन्।

नेपालका लागि अनु कडायतले ४ ओभरमा मात्र ४ रन खर्चेर ३ विकेट लिइन्। मनिषा उपाध्याय र रिया शर्माले समान २-२ विकेट हात पारे।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले कुनै पनि विकेट नगुमाई २० ओभरमा १९९ रनको विशाल योगफल तयार गरेको थियो। ओपनरद्वय साना र सावित्रीले पहिलो विकेटका लागि अविजित १९९ रनको साझेदारी गर्दै कीर्तिमानी प्रदर्शन गरे।

साना शतकबाट केवल २ रनले चुकेर ७० बलमा १३ चौकासहित अविजित ९८ रनमा रोकिइन्। सावित्रीले ५३ बलमा १३ चौका प्रहार गर्दै अविजित ७८ रन बनाइन्। दुवैले चौकाबाट मात्र १०४ रन जोडे।

सावित्रीको यो प्रतियोगितामा लगातार दोस्रो अर्धशतक हो। उनले यसअघि कतारविरुद्ध ५२ रनको उत्कृष्ट इनिङ्स खेलेकी थिइन्। लगातार दोस्रो प्रभावशाली जितसँगै नेपालले प्रतियोगितामा आफ्नो दाबेदारी बलियो बनाएको छ। अब नेपालले मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ।